के हो विश्वघस्र पक्ष?यो वेला के गर्नु हुन्छ?के गर्नु हुन्न त?

मिती २०८१ साल असार ९ गते आइतबार प्रतिपदा तिथी प्रात:५ / ४८ बजेसम्म त्यस उप्रान्त द्वितीया तिथी आरम्भ हुने भएकोले यो दिन बाट असार २१ गते सम्म विश्वघस्र पक्ष पर्ने छ।ज्योतिसीय अनुसार विश्व भनेको १३ र घस्र भनेको दिन हो।यो महिनाको आषाढकृष्णमा ९ गतेबाट २१ गतेसम्म १३ दिन विश्वघस्रपक्ष रहेको छ ।द्वितीया र चतुर्दशी तिथिको क्षय भएर अर्थात् सूर्योदयसँग सम्बन्ध नरहेकाले १३ दिनको पक्ष बन्न पुगेको छ ।
एउटा सङ्क्रान्तिदेखी अर्को सङ्क्रान्ति सम्मको दिनको समूहलाई सौरमास भनिन्छ भने एक औँसीदेखि अर्को औँसीसम्मको वा एक पूर्णिमादेखि अर्को पूर्णिमासम्मको तिथिहरूको समूहलाई चान्द्रमास भनिन्छ । एक चान्द्रमासमा, १५ तिथि कृष्णपक्ष र १५ तिथि शुक्लपक्ष गरी दुईवटा पक्ष हुन्छन् ।यी पक्षमा धेरै जसो एउटा तिथिक्षय चाहिँ भइरहेको हुन्छ ।तर कुनै पनि पक्षमा दुईवटा तिथि क्षय भए भने त्यो पक्षलाई विश्वघस्रपक्ष भनिन्छ ।
एकपक्षयादायान्ती तिथियश्च त्रयोदशः ।
त्रयोदशा क्षयम् यान्ती वाजिनो मानुजो गजाः ।।
त्रयोदशदिने पक्षे तदा संहरते जगत् । (ज्योतिर्निबन्ध)
यस्तो काल योग धेरै वर्षमा एकपटक मात्र आउने गर्दछ, यस्तो समयमा पृथ्वीमा विनाशको अवस्था आउन सक्ने शास्त्रमा बताइएको छ ।
त्रयोदशदिने पक्षे तदा संहरते जगत् ।
अपि वर्षसहस्रेण कालयोगः प्रवर्तते ।।
सामान्यतः तिथिक्षयलाई अशुभ नै मानिन्छ । यसैगरी एकपक्षमा दुई तिथिको क्षय पनि अशुभकारक नै हुने भएकोले विश्वघस्रपक्ष हुनु अशुभकारक मानिएको छ । यस पक्षमा हात्ति घोडालगायतका पशुपंक्षि र मनुष्यहरुको विनाश हुन्छ भनिएको छ । यस्तो समयमा विश्वमा संकट निम्त्याउने, प्रकोप र विपत्तिको सामना गर्नु पर्ने हुन सक्छ भन्ने फलवर्णन ज्योतिर्निबन्धमा पाइन्छ ।
पक्षस्य मध्ये द्वितिथी पतेतां तदा भवेद्रौरवकालयोगः ।
पक्षे विनष्टे सकलं विनष्टमित्याहुराचार्यवराः समस्ताः ।।
अर्थात् कुनै एक पक्ष‍‍मा दुईवटा तिथि क्षय भए भने रौरवकाल नामको नराम्रो योग हुन्छ । यस्तो नराम्रो योग भएमा अतिवृष्टि, अनावृष्टि, राज्यसत्ता परिवर्तन, नराम्रा रोगहरूको प्रकोप आदिको डर एवं सबैतिर नराम्रो हुने त्रास वर्षैभरी रहन्छ भनिएको छ । गुरु-शुक्र अस्त भएको बेलामा वर्जित जस्तै- विवाहादि माङ्गलिक कार्य, व्रतारम्भ, उद्यापन, घरजग्गा किनबेच, गृहप्रवेश, सन्न्यास, रत्न, आभूषणहरूको धारण आदि शुभकर्म यो विश्वघस्र पक्षको समयमा वर्जित गरिएको छ ।
अस्ते वर्ज्यं सिंहनक्रस्थजीवे वर्ज्यं केचिद्वक्रगे चातिचारे ।
गुर्वादित्ये विश्वघस्रेऽपि पक्षे प्रोच‍ुस्तद्वद्दन्तरत्नादिभूषाम् ।।
यस्तो खालको योग यही २०८१ साल असार ९ गतेदेखि २१ गतेसम्म परेको छ ।केही समयको अन्तरालमा पर्ने यस्तो योग महाभारत युद्धको अगाडि पनि परेको थियो ।
र त्यस युद्धमा धृतराष्ट्रले युधिष्ठिरलाई युद्धमा मर्नेको संख्या कती हो भनेको हुनाले
दशायुतानामयुतं सहस्राणि च विंशतिः ।
कोट्यः षष्टिश्च षट् चव ह्यस्मिन् राजन् मृधे हताः ॥
अलक्शितानां वीराणां सहस्राणि चतुर्दश ।
दश चान्यानि राजेन्द्र शतं षष्टिश्च पञ्च च ॥ स्त्रीपर्व (२६।९-१०)
हे राजन् ! यस युद्धमा एक अरब, छैसष्ठि करोड़, बीस हजार (१,६६,००,२०,०००) योद्धा मरेका थिए।यसको अतिरिक्त चौबीस हजार एक सय पैसष्ठि (२४,१६५) सैनिक हराएका थिए।किनकी त्यो वेला पनी विश्वघस्र पक्ष परेको हुनाले यत्रो विनाश भएको हो।
यो समयमा गरिएका समस्त शुभकार्यहरु अनिष्ट फलदायक नै हुन्छन । यसैले यो समयमा काम्य विशेष कर्म नगर्नु भनी बताइएको हो । नित्य (दैनिक पूजापाठ, श्राद्ध, पर्व आदि) र नैमित्तिक (नामकरण, अन्नप्राशन अन्त्यकर्म आदि) कार्य भने यस्तो अवस्थामा पनि गर्न सकिन्छ ।
गुरु शुक्र अस्तको समयमा जस्तै विश्वघस्रपक्षमा पनि काम्यकर्म (विवाह, व्रतबन्ध, कुवा खन्ने, वगैंचा निर्माण, गृहारम्भ, गृहप्रवेश, देवताको मूर्ति प्राण प्रतिष्ठा, व्रत प्रतिष्ठा, व्रतको आरम्भ, वधूप्रवेश, महादान, सोम यज्ञ, अप्टका श्राद्ध. गोदान (केशान्तकर्म), प्रथमपटक उपाकर्म, वेदव्रत, काम्य वृपोत्सर्ग, दीक्षा मन्त्र ग्रहण, मुण्डन, पहिलो पटक तीर्थ यात्रा, सन्यास ग्रहण) आदि जुराएर गर्नुपर्ने कार्य वर्जित हुन्छन् ।
पं-बालमुकुन्द देबकोटा

Leave a Reply

Your email address will not be published. Required fields are marked *