काभ्रे । बनेपा नगरपालिका वडानम्बर ५ मा मुख्य कार्यालय रहेको मनकामना बचत तथा ऋण सहकारीले आफ्नो ३१ औं वार्षिकोत्सवको अवसर पारेर पुस्तकालय संचालन गरेको छ ।
बिहीबार कार्यक्रमका प्रमुख अतिथि, जनमत प्रकाशनका अध्यक्ष एवं वरिष्ठ साहित्यकार मोहन दुवालले पुस्तकालयको उद्घाटन गर्नुभयो । कार्यक्रमको उद्घाटन गर्नुहुँदै उहाँले साहित्य र संस्कृति जोगाउन पुस्तकालयको अति नै महत्व रहेको बताउँदै मनकामना बचत तथा ऋण सहकारीले गरेको कार्यको प्रशंसा गर्नुभयो । उहाँले पुस्तकको हेला गर्नेको कहिल्यै प्रगति नहुने बताउँदै पठनसंस्कृतीको कमी भइरहेको अवस्थामा संस्थाले पुस्तकालय खोलेर राम्रो काम गरेको चर्चा गर्नुभयो । प्रमुख अतिथि दुवालले मनकामनाले स्थापना गरेको पुस्तकालयलाई एउटा कोठामा मात्र सिमित नराखी भवन बनाएर संचालन गर्न सल्लाह दिँदै आफूले सक्नेजति सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
कार्यक्रमका विशिष्ठ अतिथि शब्दयात्रा प्रकाशनका अध्यक्ष एवं वरिष्ठ साहित्यकार हरि मञ्जुश्रीले आफूले १४ वर्ष पहिले स्थापना गरेको शब्दयात्रा पुस्तकालयको स्मरण गर्दै मनकामना पुस्तकालयको भविष्य उज्वल रहेको उल्लेख गर्नुभयो । उहाँले यस पुस्तकालयलाई आफूले एक सय वटा पुस्तक सहयोग गरेको र आगामी दिनमा पनि सहयोग जारी राख्ने बताउनुभयो । आगामी पुस्ता पुस्तक बिमुख हुँदै गएकोप्रति उहाँले चिन्ता व्यक्त गर्नुभयो ।
संस्थाका अध्यक्ष गोपालप्रसाद घिमिरेले सहकारीको मुख्य काम आर्थिक गतिविधिहरु भए पनि ज्ञान बढाउने काम पनि प्राथमिकतामा रहेको बताउनुभयो । उहाँले पैसा आफैंमा ठूलो कुरा भएको भए पनि त्यो भन्दा ठूलो कुरा ज्ञान भएकाले पुस्तकालयले मानिसमा ज्ञानको बृद्धिमा सहयोग गर्ने बताउनुभयो । पुस्तकालयको स्थापना गर्ने सोच पहिलेदेखि नै रहेको भए पनि बल्ल आज उद्घाटन गर्न पाइएको उल्लेख गर्दै उहाँले सहयोग गर्नुहुने दीपकप्रसाद पौडेल, मोहन दुवाल, हरि मञ्जुश्रीलगायत सबैलाई विशेष धन्यवाद व्यक्त गर्नुभयो । ज्ञानगुनका अघि अरु सबै विषय फिक्का हुने बताउँदै पढ्ने बानीको विकास गर्न उहाँले सबैलाई सल्लाह दिनुभयो ।
संस्थाका सल्लाहकार बालकृष्ण दाहालले सहकारीहरुमा पहिलो पटक मनकामना साकोसले पुस्तकालय खोलेर निकै उत्कृष्ट कार्य गरेको बताउँदै सफलताको शुभकामना व्यक्त गर्नुभयो । संस्थाका उपाध्यक्ष बिदुरप्रसाद घिमिरेले उपस्थित सबैलाई स्वागत गर्नुहुँदै भोलिका भाइबैनीलाई पठन संस्कृतिको विकास गर्नका लागि पुस्तकालयको स्थापना गरिएको बताउनुभयो ।
कार्यक्रममा लेखक उद्वव नेपाल, बनेपा नगरपालिका वडानम्बर ५ का वडाध्यक्ष बलराम अधिकारी, संस्थाका प्रमुख कार्यकारी अधिकृत सिताराम तिमल्सिना, वरिष्ठ प्रबन्धक सुजन जंगम, संस्थाका संचालक समितिका सदस्यहरु, कर्मचारीलगायतको उपस्थिती रहेको थियो । संस्थाका अध्यक्ष गोपालप्रसाद घिमिरेको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो ।

December 4, 2025, Jyotishsanchar press