Screenshot 2025 12 26 181656
काठमाडौँ । काठमाडौँ उपत्यकाका विभिन्न स्थान र मितिमा चोरी भएका ६० वटा दुई पाङ्ग्रे सवारी साधन फेला पारी ट्राफिक प्रहरीले शुक्रबार सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ ।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा आयोजित एक कार्यक्रमबीच काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक ईश्वर कार्की र काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले संयुक्तरूपमा ३४ वटा मोटरसाइकल र २६ वटा स्कुटर सम्बन्धित धनीलाई हस्तान्तरण गर्नुभएको हो ।
विभिन्न मितिमा प्राप्त निवेदनका आधारमा खोजी गर्ने क्रममा केहीमा वास्तविक नम्बर प्लेट र केहीमा नक्कली नम्बर प्लेट राखेको अवस्थामा काठमाडौँ उपत्यकाको काडाँघारी, पुल्चोक, स्वयम्भू, दरबारमार्ग, चापागाउँ, नेपालटार, टोखा, नयाँबसपार्क, बालकुमारी, भाटभटेनी भक्तपुर, लोकन्थली, नाला बनेपा, बसन्तपुर, कीर्तिपुर, ताथली, बौद्ध, सिनामंगल, थानकोट, सोह्रखुट्टे, कपन, सुडाल र जरङ्खु लगायतका स्थानबाट उक्त सवारी साधन ट्राफिक प्रहरीले फेला पारेको हो ।
चालु आर्थिक वर्षको हालसम्म ट्राफिक प्रहरीले आज बुझाइएका ६० वटासहित १ सय ८१ वटा सवारी साधन सम्बन्धित धनीलाई जिम्मा लगाइसकेको छ । चोरीका १३ वटा दुई पाङ्ग्रे सवारी साधनसहित चोरीमा संलग्न २५ जना व्यक्तिहरूलाई पनि नियन्त्रणमा लिएर आवश्यक कारबाहीका लागि विभिन्न प्रहरी परिसर तथा प्रहरी वृत्तमा पठाइएको छ । आर्थिक वर्ष २०८०/०८१ मा ४ सय १७ वटा र ०८१/०८२ मा ५ सय ३ वटा दुई पाङ्ग्रे सवारी साधन खोजतलास गरी ट्राफिक प्रहरीले सम्बन्धित धनीलाई जिम्मा लगाएको छ ।

December 26, 2025, Jyotishsanchar press