काठमाडौं । नेपालमा हाल कमजोर पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। देशको पहाडी र हिमाली भागमा आंशिक बादल लागेको छ । तराईमा मौसम मुख्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
आज दिउँसो कोशी प्रदेशको पहाडी र हिमालीलगायत बाँकी हिमाली भागमा साधारणतया बादल लाग्नेछ । कोशी प्रदेशको तराईमा तथा बाँकी पहाडी भागमा आंशिक बादल लाग्नेछ । तराईमा मौसम मूख्यतया सफा रहनेछ ।
कोशी प्रदेशको पहाडी र हिमाली भागलगायत वागमती र गण्डकी प्रदेशको हिमाली भागका थोरै स्थानहरूमा र बाँकी हिमाली तथा गण्डकी प्रदेशका पहाडी भागका एक–दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षा/हिमपातको सम्भावना रहेको विभागले जनाएको छ ।

