धुलिखेल । एकीकृत जनस्वास्थ्य तथा पोषण अभियान अन्तर्गत सञ्चालन गरिएको दुई दिने निःशुल्क विशेषज्ञ स्वास्थ्य शिविर जनस्वास्थ्य कार्यालय, काभ्रेपलाञ्चोकको आयोजना तथा चौंरीदेउराली गाउँपालिकाको समन्वय तथा व्यवस्थापनमा पूर्णरुपमा सम्पन्न भएकाे छ । यस कार्यक्रममा प्राविधिक सहयोग मेथिनकोट अस्पताल, आयुर्वेद तथा वैकल्पिक चिकित्सालय, नेपाल फुड फाउन्डेसन, पोषण पुनर्स्थापना केन्द्र र नेपाल परिवार नियोजन संघबाट प्राप्त भएको थियो।
शिविर चैत २६ र २७ गते धुसेनी शिवालय प्राथमिक अस्पताल, चौंरीदेउराली गाउँपालिका वडा नं. ५, काभ्रेपलाञ्चोकमा बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म सञ्चालन गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि जनस्वास्थ्य कार्यालय काभ्रेका प्रमुख रागिश्री कक्षपति श्रेष्ठ रहनुभएको थियो भने शिविरको उद्घाटन चौंरीदेउराली गाउँपालिकाका अध्यक्ष रेणुका चौलागाईंद्वारा गरिएको थियो। प्रमुख अतिथि कक्षपतिले हरेक वर्ष विभिन्न विषयका विशेषज्ञ चिकित्सकसहित यस्ता शिविर सञ्चालन गरी गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।
शिविरमा कुल ३६३ जना बिरामी दर्ता भएका थिए । विभिन्न सेवा अन्तर्गत नसर्ने रोग तथा मुख्यमन्त्री कार्यक्रमबाट २६६, विशेषज्ञ मेडिसिन सेवा १८०, हाडजोर्नी उपचार ११०, नाक–कान–घाँटी सेवा ९१, बालरोग सेवा ३०, १४ वर्ष मुनिका बालबालिकाको पोषण लेखाजोखा ३३, दन्तरोग सेवा ७३, स्त्रीरोग तथा प्रजनन स्वास्थ्य सेवा ११६, ल्याब परीक्षण ३७, प्रोस्टेट जाँचका लागि रगत नमुना २६, आयुर्वेद सेवा तथा उपचार ११७ र औषधि वितरण ३५९ सेवा प्रदान गरिएको थियो ।
समग्रमा यस शिविरबाट कुल १ हजार ४३८ सेवा प्रवाह गरिएको थियो । विभिन्न विशेषज्ञ सेवामा उच्च सहभागिता देखिनुका साथै औषधि वितरण र नसर्ने रोगसम्बन्धी सेवामा उल्लेखनीय उपलब्धि हासिल भएको कार्यालयले जनाएकाे छ ।

