काठमाडौं । नेपाल राष्ट्र बैंकले डिजिटल भुक्तानी प्रणालीलाई थप व्यवस्थित बनाउन ‘भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशन, २०८२’ लागू गरेको छ। भुक्तानी तथा फर्छ्यौट ऐन, २०७५ को दफा ४५ अनुसार प्राप्त अधिकार प्रयोग गर्दै केन्द्रीय बैंकले चैत मसान्तसम्म जारी भएका विभिन्न परिपत्र र निर्देशनहरूलाई समेटेर यो नयाँ एकीकृत व्यवस्था ल्याएको हो।
यस निर्देशनमार्फत विद्युतीय कार्ड, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ तथा डिजिटल वालेटका लागि स्पष्ट मापदण्ड र कारोबार सीमा निर्धारण गरिएको छ।
नयाँ व्यवस्थाअनुसार मोबाइल बैंकिङमार्फत दैनिक अधिकतम ३ लाख रुपैयाँ र इन्टरनेट बैंकिङमार्फत दैनिक २० लाख रुपैयाँसम्म कारोबार गर्न पाइनेछ। डिजिटल वालेटमा बैंक खाताबाट दैनिक २ लाख र मासिक १० लाख रुपैयाँसम्म रकम पठाउन सकिनेछ।
त्यस्तै, एक वालेटबाट अर्को वालेटमा रकम पठाउँदा दैनिक ५० हजार र मासिक ५ लाख रुपैयाँको सीमा तोकिएको छ।

