Arest Pakrau 1
काठमाडौँ । अवैध लागूऔषधसहित देशका विभिन्न स्थानबाट १० जना पक्राउ परेका छन् ।
झापा, बिर्तामोड नगरपालिका-४ मुनाल टोलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४१ ग्राम ५ सय ८० मिलिग्रामसहित २ जनालाई शुक्रबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भद्रपुर नगरपालिका-१ पाण्डे चोक बस्ने २५ वर्षीय निरोज लिम्बु र सोही नगरपालिका-२ पृथ्वीनगर बस्ने २६ वर्षीय सागर प्रधान रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय काँकडभिट्टा समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । साथै प्रहरीले उनीहरूले प्रयोग गरेको प्र.१-०१-०१५ प ३४२७ नम्बरको स्कुटर समेत बरामद गरेको छ ।
बर्दिया, बढैयाताल गाउँपालिका-२ फुटाहबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ३ सय मिलिग्रामसहित बाँसगढी नगरपालिका-६ बस्ने २४ वर्षीय रामकुमार थारूलाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मैनापोखरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
नवलपरासी पूर्व, कावासोती नगरपालिका-१६ चालिसकिलो जंगल नजिकबाट नियन्त्रित लागूऔषध डाईजेपाम ९ सय ९५ एम्पुल, प्रोमेथाजाइन ८ सय ९८ एम्पुल र बुप्रेनोर्फिन ८ सय ७७ एम्पुलसहित २ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा नवलपरासी पश्चिम बर्दघाट नगरपालिका-१३ बस्ने २५ वर्षीय रामु नाउ र सुनवल नगरपालिका-७ बस्ने २७ वर्षीया राजकुमारी कुँवर रहेका छन् । जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्व समेतबाट खटिएको प्रहरीले सुनौलीबाट पोखरातर्फ आउँदै गरेको लुम्बिनी प्रदेश ०१-००१ ख ०९५३ नम्बरको बसमा सवार उनीहरूलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।
यसैगरी बर्दिया, बढैयाताल गाउँपालिका-२ फुटाहबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ सय ३० मिलिग्रामसहित सोही गाउँपालिका-५ बस्ने १७ वर्षीय किशोरलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मैनापोखरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ साइकलमा आउँदै गरेका उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
उदयपुर, त्रियुगा नगरपालिका-१० बोक्सेचोक नजिकबाट नियन्त्रित लागूऔषध डाइजेपाम १ सय ५० एम्पुल, फेनारगन १ सय ५० एम्पुल र ब्रुप्रेनोर्फिन १ सय ५० एम्पुलसहित सोही नगरपालिका-९ रातमाटे बस्ने रेम्बो भनेर चिनिने ३२ वर्षीय जहान सिंह खत्रीलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।
मोरङ, पथरीशनिश्चरे नगरपालिका-४ सम्झना चोक बस्ने २३ वर्षीय ज्ञानदिप राईसमेत ३ जनालाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्रामसहित शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरीले राईको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

January 10, 2026, Jyotishsanchar press