काठमाडौँ । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी बेलायत पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा काठमाडौं महानगरपालिका-१६ बस्ने नुवाकोट तार्केश्वर गाउँपालिका-१ घर भएकी ३६ वर्षीया कुमारी तामाङलाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।
कुमारीले बेलायत पठाइदिन्छु भन्दै २ जना पीडितहरूबाट ७ लाख ९० हजार रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौं महानगरपालिका-१२ बाट पक्राउ गरेको हो ।
आवश्यक अनुसन्धान तथा कारवाहीको लागि उनलाई वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।
पर्सा । बैंकिङ कसुर मुदाका फरार प्रतिवादी वीरगंज महानगरपालिका-१९ बस्ने ३२ वर्षीय अनिलकुमार गुप्तालाई सोमबार प्रहरीले पक्राउ गरेको छ।
जिल्ला अदालत पर्साको फैसलाले उक्त मुद्दामा ५ लाख रूपैयाँ जरिवाना, २० हजार रूपैयाँ पीडित राहत कोषमा जम्मा गराउने र ३ दिन कैद सजाय ठहर भई फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।
फैसला कार्यान्वयनको लागि उनलाई जिल्ला अदालत पर्सामा पेश गरिएको छ ।
काठमाडौँ । सुन जस्तो देखिने धातुसहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ परेका छन् ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडान तर्फको आगमन टनेल गेटबाट अवैधरूपमा भन्सार छली लुकाई छिपाई लैजान लागेको करिब १ सय ग्राम तौलको सुन जस्तो देखिने धातु १ थानसहित भारतीय नागरिक ४९ वर्षीय Abu Barkat Kudrate Khoda Kazi लाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको हाे ।
विमानस्थल सुरक्षा कार्यालय समेतबाट खटिएको प्रहरीले फ्लाई दुबाईको उडानद्वारा काठमाडौँ आएका उनलाई जाँच गर्दा उनको साथबाट उक्त धातु फेला पारी पक्राउ गरेको हो ।
आवश्यक अनुसन्धान तथा कारवाहीको लागि उनलाई त्रिभुवन विमानस्थल भन्सार कार्यालय गौचर पठाइएको छ ।
काभ्रे । भकुण्डेबेँसी जेसीजले रोशी गाउँपालिका तीन वटा विद्यालयका विद्यार्थीहरूलाई न्यानो कपडा वितरण गरेको छ।
भकुण्डेबेँसी जेसीजमा नयाँ अध्यक्ष आउने वित्तिकै रोशी गाउँपालिका वडा नं ५ को विद्या विकास प्राथमिक विद्यालय, रोशी-६ को ठाकुरस्थान प्राथमिक विद्यालय र सिद्धार्थ प्राथमिक विद्यालयका विद्यार्थीहरूलाई न्यानो कपडा (स्विटर, टोपी) वितरण गरिएको हो ।
भकुण्डेबेँसी जेसीज वर्ष २०२६ का अध्यक्ष रञ्जना उप्रेतीको नेतृत्वमा विद्या विकास प्राथमिक विद्यालयका ३३ जना, ठाकुरस्थान प्राथमिक विद्यालयका २२ जना र सिद्धार्थ प्राथमिक विद्यालयका ४ जना विद्यार्थीलाई एकएक थान स्विटर र टोपी वितरण गरिएको हो ।
भकुण्डेबेँसी जेसीज वर्ष २०२६ का अध्यक्ष उप्रेतीले शिक्षाको ज्योति फैलाउन बालबालिकाको स्वास्थ्य र सहजता पनि उत्तिकै महत्त्वपूर्ण रहने बताउँदै संस्थाको तर्फबाट सानो सहयोगले बालबालिकाहरूको सिकाई प्रक्रियामा उत्साह थपिने विश्वास लिएको बताइन् । बढ्दो चिसोबाट विद्यालय जाने बालबालिकालाई केही मात्रामा भएपनि राहत मिलोस् भन्ने उद्देश्यले न्यानो कपडा वितरण गरिएको उप्रेतीको भनाइ छ ।
वितरण कार्यक्रममा रोशी ६ का वडा अध्यक्ष नारायणबहादुर सिवाकोटी, भकुण्डेबेँसी जेसीज वर्ष २०२६ का कार्यकारी उपाध्यक्ष शिवप्रसाद न्यौपाने, शाखा सम्पादक कल्याण काफ्ले लगायत विद्यालयका विद्यार्थी, शिक्षक तथा अभिभावकहरुको सहभागिता रहेको थियो ।
काठमाडौँ । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी न्यूजिल्याण्ड र ग्रीस पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई आइतबार प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-३१ बस्ने धादिङ थार्के गाउँपालिका-७ घर भएका २४ वर्षीय अन्जन भुजेल र काठमाडौं महानगरपालिका-२६ बस्ने सल्यान वनगाड कुपिण्डे नगरपालिका-४ घर भएका ३१ वर्षीय नविन दमाई रहेका छन् ।
पक्राउ मध्ये अन्जनले न्यूजिल्याण्ड पठाइदिन्छु भन्दै ५ जना पीडितहरूबाट १७ लाख १० हजार रूपैयाँ र नविनले ग्रीस पठाइदिन्छु भन्दै २ जना पीडितहरूबाट २ लाख ६० हजार रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले अन्जनलाई काठमाडौं महानगरपालिका-३१ बाट र नविनलाई काठमाडौं महानगरपालिका-३२ बाट पक्राउ गरेको हो ।
उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।
काठमाडाैँ । अवैध लागूऔषधसहित देशका विभिन्न स्थानबाट पाँच जना पक्राउ परेका छन् । काठमाडौँकाे तारकेश्वर नगरपालिका-५ गोलढुंगाबाट अवैध लागूऔषध खैरो हेरोइन २ सय २६ ग्राम सहित २ जनालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा सुनसरी इटहरी उपमहानगरपालिका-१ इटहरी बस्ने २७ वर्षीय सोमित माझी र झापा अर्जुनधारा नगरपालिका-११ बस्ने २७ वर्षीय देउकुमार माझी रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो कोटश्वरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।
ललितपुर, ललितपुर महानगरपालिका-१५ सातदोबाटोबाट अवैध लागूऔषध गाँजा ८ सय ९ ग्राम सहित सोही ठाउँ बस्ने पाँचथर घर भएका ४२ वर्षीय किरण राईलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त सातदोबाटोबाट खटिएको प्रहरीले उनलाई उक्त गाँजासहित पक्राउ गरेको हो
सिरहा, गोलबजार नगरपालिका-४ गोलचक्रबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ ग्राम ९ सय ७० मिलिग्रामसहित २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा धनगढीमाई नगरपालिका-१० बस्ने २० वर्षीय राधेश्याम साह र सोही नगरपालिका-५ बस्ने २४ वर्षीय रितिककुमार सिंह रहेका छन् ।
इलाका प्रहरी कार्यालय गोलबजार र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय गोलबजारबाट खटिएको प्रहरीले कसहाबाट गोलबजारतर्फ आउँदै गरेको मधेश प्रदेश ०१-००४ प ९३७३ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
काठमाडौँ । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी कम्बोडिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् ।
काठमाडौँ महानगरपालिका-९ बस्ने पर्सा ठोरी गाउँपालिका-४ घर भएका ४१ वर्षीय वविलाल लामालाई शुक्रबार प्रहरीले पक्राउ गरेको हाे ।
वविलालले कम्बोडिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट ४ लाख ३५ हजार रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितको उजुरीको आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौँ महानगरपालिका-३ बाट पक्राउ गरेको हो ।
आवश्यक अनुसन्धान तथा कारवाहीका लागि उनलाई वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको छ ।
काठमाडौँ । नक्कली शैक्षिक प्रमाणपत्र बनाई ठगी गर्ने कार्यमा संलग्न रहेको अभियोगमा ७ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा तनहुँकाे म्याग्दे गाउँपालिका-७ घर भएका किरणसिंह ठकुरी, पर्वत फलेवास नगरपालिका-१० घर भएका ४० वर्षीय अनिल शर्मा, काठमाडौँ तारकेश्वर नगरपालिका-७ बस्ने ३४ वर्षीय लक्ष्मण बस्नेत, नुवाकोट ककनी गाउँपालिका-१ बस्ने ४२ वर्षीय केशव फुयाल, नुवाकोट तादी गाउँपालिका-४ बस्ने ४७ वर्षीय विष्णु पाण्डे, काठमाडौं महानगरपालिका-२ बस्ने ४३ वर्षीया दीपा लावती र गुल्मी धुर्कोट गाउँपालिका-२ बस्ने ५२ वर्षीय शोभाखर खनाल रहेका छन् ।
किरण सिंहले यूएस डाईभरसिटी भिसा प्रयोजनका लागि अमेरिकी दुतावास काठमाडौंमा पेश गरेको कक्षा १२ को शैक्षिक प्रमाणपत्र राष्ट्रिय परीक्षा बोर्ड सानोठिमीबाट नक्कली भएको पुष्टी भए पश्चात उक्त नक्कली शैक्षिक प्रमाणपत्र बनाउने किरणसिंह ठकुरी समेतका व्यक्तिहरूलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले काठमाडौँका विभिन्न स्थानबाट पक्राउ गरेको हो ।
उनीहरूलाई लिखतसम्बन्धी कसूरमा आवश्यक अनुसन्धान एवम् कारवाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ ।
धुलिखेल । धुलिखेल अस्पतालले गुणस्तरीय स्वास्थ्य सेवामा पहुँच बढाउन बहिरंग सेवा (ओपीडी) को सञ्चालन समय विस्तार गरेको छ ।
बिहानी एवं दिउँसाेकाे समयमा कामकाजमा व्यस्त रहने सेवाग्राही (विशेषगरी कार्यालयमा सेवारत समूह) एवं उक्त समयमा कार्य-व्यस्तताका कारण अस्पतालसम्म आइ स्वास्थ्य सेवा लिन नसकेका सेवाग्राहीहरूलाई लक्षित गरी अस्पतालले आफ्नो नियमित ओपीडी सेवाहरू दुई घण्टाले बढाएको हाे ।
नयाँ ओपीडी सञ्चालन तालिका अनुसार बिहान ८:०० बजेदेखि साँझ ६:०० बजेसम्म हुनेछ । यस अघि ओपीडी सेवा बिहान ९:०० बजेदेखि साँझ ४:०० बजेसम्म सञ्चालन हुँदै आएको थियो।
यसका साथै धुलिखेल अस्पतालले विगत केही हप्तादेखि शनिबार पनि ओपीडी सेवा सञ्चालन गर्दै आएको अस्पतालका निर्देशक प्रा डा बलराम मल्लले जानकारी दिनुभयाे। अन्य दिन कार्यालय वा दैनिक व्यस्तताका कारण बहिरंग (ओपीडी) सेवा लिन नपाएका सेवाग्राहीहरुलाई दृष्टिगत गरी अस्पतालले शनिबारसमेत बिहान ९:०० बजेदेखि अपराह्न १:०० बजेसम्म बहिरंग सेवाहरूकाे थालनी गरिएको उहाँले बताउनुभयाे ।
यी विस्तारित सेवा अर्थात् अन्य दिनका अपरान्ह सत्रकाे ओपीडी सेवा (४:०० देखि ६:०० बजे सम्म) र शनिबारीय बहिरंग (ओपीडी) सेवाहरूमा नेपाल सरकारको स्वास्थ्य बीमा सेवा भने लागू नहुने आइतबार आयाेजित पत्रकार सम्मेलनमा जानकारी दिइएकाे छ।
मकवानपुर । हेटौंडा उपमहानगरपलिका-१५ रातोमाटेबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब १ ग्राम ६ सय ८० मिलिग्रामसहित बागलुङ घर भएका १९ वर्षीय बिबेक घर्तिमगरलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी चौकी रातोमाटेबाट खटिएको प्रहरीले वीरगंजबाट हेटौंडा बजारतर्फ आउँदै गरेको बा.प्र.०३-००१ ज ०९२८ नम्बरको इभि गाडीमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
रूपन्देही, सैनामैना नगरपालिका-६ रामापुर कलौनीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ ग्राम ४ सय ५० मिलिग्रामसहित सोही नगरपालिका-७ बस्ने ४२ वर्षीय हरि खनाललाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय सालझण्डीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।