Kavre Udhog Sangh 3
बनेपा । काभ्रे उद्योग वाणिज्य संघको ४३ औं साधारण सभा तथा ५९ औं स्थापना दिवस आइतबार सम्पन्न भएकाे छ । बनेपामा आयाेजित एक कार्यक्रमका बीच नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रीय अध्यक्ष चन्द्र ढकालकाे प्रमुख आतिथ्यतामा स्थापना दिवस तथा साधारण सभा सम्पन्न भएकाे हाे।
कार्यक्रमकाे उद्घाटन गर्दै अध्यक्ष ढकालले कुनै पनि आन्दोलनका बाहानामा उद्योगलाई निशाना बनाउने र व्यक्तिका उद्योग, घर, सम्पत्ति आगजनी तथा लुटपाट हुनु दुःखद भएको बताउनुभयाे। जेनजी आन्दाेलनमा उद्याेगहरुमा ताेडफाेड भएकाे र यसले समग्र क्षेत्रमा नराम्राे असर परेकाले अर्बाैंकाे क्षति तथा हजाराैंकाे राेजगारी गुमेकाे उल्लेख गर्दै उहाँले राज्यले उद्याेग र उद्याेगी सुरक्षित हुने वातावरण नबनाएसम्म लगानीकाे वातावरण पनि नहुने बताउनुभयाे । जेनजी आन्दोलनको उद्देश्य आक्रमण नभएको भए पनि आन्दोलनका नाममा घुसपैठ गरेर उद्याेगहरु आगजनी गर्नेहरुमाथि कारबाही हुनुपर्ने उहाँकाे माग थियाे ।
कार्यक्रममा महासंघ केन्द्रका बरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठ, उपाध्यक्ष सुरकृष्ण बैद्य तथा ज्योत्सना श्रेष्ठ, केन्द्रीय सदस्यहरु, जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दीपककुमार गौतम, बनेपा नगरपालिका प्रमुख शान्तिरत्न शाक्य, पाँचखालका नगर प्रमुख महेश खरेल, उपप्रमुख विमला सापकोटा, नेपाल पत्रकार महासंघ काभ्रे शाखा अध्यक्ष विनोद न्यौपाने, विभिन्न संघ संस्थाका प्रमुख एवं पदाधिकारीहरु, काभ्रे उद्योग बाणिज्य संघका पूर्वअध्यक्षहरु, पदाधिकारीहरु, उद्योगी ब्यवसायीको सहभागिता रहेको थियो । अधिकांश वक्ताहरुले हरेक आन्दोलनमा उद्योगी, ब्यवसायीहरु मात्रै तार्गेटमा पर्ने गरेकाले राज्यले सुरक्षा प्रदान नगरे उद्योगी ब्यवसायी पलायन हुने बताएका थिए ।
कार्यक्रममा काभ्रे उद्योग वाणिज्य सङ्घका अध्यक्ष प्रताप वैद्यले जिल्लाको व्यापारिक नगरी बनेपा र धुलिखेलमा हाल अरनिको राजमार्ग विस्तारका क्रममा व्यवसायिक कठिनाइ भोगिरहनु परेको बताउनुभयाे । उहाँले व्यवसायिक वातावरण बनाइ राख्नका लागि छुट्टै व्यवसायिक स्थान, औद्योगिक क्षेत्र निर्माण गर्न राज्यलाई आग्रह गर्नुभयाे। साधारण सभाले प्रस्तुत गरेका प्रतिवेदनहरु उपर छलफल गरी पास गरेको छ। कार्यक्रम महासचिव रजित पलाञ्चोकेले संचालन गर्नुभएकाे थियाे ।

November 9, 2025, Jyotishsanchar press