California
काठमाडौँ । अमेरिकाको क्यालिफोर्नियामा परेको भारी वर्षा र आँधीका कारण बाढी र पहिरो आएको छ । गए रातिसम्म यस घटनामा कम्तीमा तीन जनाको मृत्यु भएको स्थानीय अधिकारीहरूले जनाएका छन् ।
भारी वर्षाका कारण सडकहरू बन्द भएका छन् भने जोखिममा परेका क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा सारिएको छ । बाढीले सडकमा फसेका मानिसहरूलाई उद्धार गर्न आपत्कालीन टोली परिचालित गरिएको थियो । लस एन्जलस काउन्टीका केही क्षेत्रमा ११ इन्चसम्म पानी परेको छ ।
क्यालिफोर्नियाका गभर्नर गेभिन न्युसमले लस एन्जलस र अन्य दक्षिणी काउन्टीहरूमा आपत्काल घोषणा गरेका छन् । बिहीबार साँझसम्म यहाँ करिब एक लाख मानिस विद्युत् सेवाबाट वञ्चित भएका थिए ।
सान डिएगोमा रूख ढलेर एक ६४ वर्षीय पुरुषको मृत्यु भएको छ । साथै, बाढीमा फसेको सवारीसाधनबाट उद्धार गर्ने क्रममा ७४ वर्षीय व्यक्तिको ज्यान गएको छ । सोमबार मेन्डोचिनो काउन्टीको समुद्री किनारमा ठुलो छालले बगाउँदा एक वृद्ध महिलाको मृत्यु भएको अधिकारीहरूले जनाएका छन् । एजेन्सी

December 26, 2025, Jyotishsanchar press