605246519 26522596220674254 5659294886020532830 N
बनेपा । ‘राष्ट्रका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद’ भन्ने मूल नाराका साथ बनेपामा आगामी पुस १९ गतेदेखि १५ दिनसम्म वीन्टर क्याम्प सञ्चालन हुने भएको छ ।
बनेपा फुटबल एकेडेमी र माउण्ट एभरेष्ट फुटबल क्लबको सहकार्य तथा जिल्ला फुटबल संघ काभ्रेको प्राविधिक सहयोगमा जाडोको बिदाको समय पारेर बनेपा फुटबल एकेडेमीबाट वीन्टर क्याम्प सञ्चालन हुन लागेको हो । एकेडेमीले शनिबार बनेपामा पत्रकार सम्मेलनको आयोजना गर्दै यसको जानकारी दिएको थियो ।
वीन्टर क्याम्पमा ८ देखि १६ वर्ष उमेरसम्मका खेलाडीहरु सहभागी हुनसक्ने बताइएको छ । जसका लागि प्रतिव्यक्ति १ हजार ५०० शुल्क लाग्ने बनेपा फुटबल एकेडेमीका अध्यक्ष निरोज शाक्यले जानकारी दिनुभयो । बनेपा नगरपालिका वडानम्बर ५ स्थित पोलिटेक्निक खेल मैदानमा बिहान ७ देखि ९ बजेसम्म तालिम सञ्चालन हुने बताइएको छ । यसमा जिल्लाका सबै बालबालिकाहरु सहभागी हुन पाउनेछन् ।
कार्यक्रममा काभ्रे जिल्ला फुटबल संघका अध्यक्ष विकासनारायण श्रेष्ठले बालबालिकाको मानसिक तथा शारीरिक बृद्धि विकासका लागि खेल ज्यादै ठूलो विषय भएको बताउनु भयो । उहाँले जिल्लाबाट राष्ट्रिय खेलाडीका रुपमा ४ जना रहेको जानकारी गराउँदै बालबालिकालाई ती खेलाडीसँग अन्तरक्रिया गराउन सके यसको प्रभावकारीता अझै बढ्ने बताउनुभयो । आफ्नोतर्फबाट सक्ने सबै सहयोगका लागि तयार रहेको उहाँको भनाइ थियो ।
कार्यक्रम नेपाल पत्रकार महासंघ काभ्रेका अध्यक्ष बिनोदकुमार न्यौपानेको प्रमुख आतिथ्यतामा भएको थियो । उहाँले वीन्टर क्याप सञ्चालन गर्नु राम्रो विषय भएको र यसको निरन्तरताको लागि सुझाव दिनुभयो । यसका लागि सञ्चारमाध्यमबाट गर्नुपर्ने जति सबै सहयोगका लागि आफूहरु सधैं तयार रहेको उहाँको भनाइ थियो । कार्यक्रम एकेडेमीका अध्यक्ष निरोज शाक्यको सभापतित्वमा सम्पन्न भएको थियो ।

December 27, 2025, Jyotishsanchar press