624486440 26812997778300762 2460036370799057923 N
काभ्रे । आउँदाे माघ २२ र २३ गते धुलिखेलमा ‘तेस्रो विश्वविद्यालय खेलकुद प्रतियोगिता–२०८२’ हुने भएको छ ।
राष्ट्रिय खेलकुद परिषद्को आयोजना तथा काठमाडौँ विश्वविद्यालय र नेपाल इन्टरनेशनल इभेन्ट्स म्यानेजमेन्ट प्रा.लिको सहआयोजनामा प्रतियोगिता हुने भएको हो । यसमा त्रिभुवन विश्वविद्यालयको विशेष सहयोग रहनेछ ।
तेस्रो विश्वविद्यालय खेलकुद प्रतियोगिताको उद्घाटन माघ २२ गते काठमाडौँ विश्वविद्यालय धुलिखेलमा हुने बिहीबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।
प्रतियोगितामा ८ वटा विश्वविद्यालयको सहभागिता रहने र ५ विधाका खेलहरु समावेश गरिएको आयोजकले जनाएको छ । जसमा सुदुरपश्चिम विश्वविद्यालय, मध्यपश्चिम विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय, गण्डकी विश्वविद्यालय, पोखरा विश्वविद्यालय, कृषि तथा वन विश्वविद्यालय, त्रिभुवन विश्वविद्यालय र काठमाडौँ विश्वविद्यालयको सहभागिता रहने विद्यार्थी कल्याण निर्देशनालयका कायममुकायम निर्देशक डा. गोकुल केसीले जानकारी दिनुभयो ।
भलिबल, टेबलटेनिस, व्याडमिन्टन, बास्केटबल र एथ्लेटिक्सका खेलहरु रहनेछन् । एउटा विश्वविद्यालयबाट खेलाडी ३१ जना, प्रशिक्षक ५ र व्यवस्थापक १ गरी ३७ जनाको सहभागिता रहने पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।
राष्ट्रिय खेलकुद परिषद्का सदस्य कमलबहादुर भट्टराईले दिनुभएको जानकारी अनुसार प्रतियोगिताको तयारी तिब्ररुपमा भइरहेको छ । प्रतियोगितामा १८ लाख खर्च हुने र प्रत्येक इभेन्टका विजेताले ३ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्ने पनि जानकारी दिइएको छ ।

January 29, 2026, Jyotishsanchar press