Mato Day
काठमाडौँ । ‘स्वस्थ माटोका लागि स्वस्थ सहर’ भन्ने नाराका साथ आज देशभर १२औँ विश्व माटो दिवस मनाइँदैछ। कृषि तथा पशुपन्छी विकास मन्त्रालय र त्यसअन्तर्गतका अन्य निकायले १२औँ विश्व माटो दिवस देशभर विभिन्न कार्यक्रम गरी मनाइरहेका छन् ।
मङ्सिर १४ गते माटोको उर्वरा शक्तिको दिगो व्यवस्थापनका लागि विश्वस्तरमा जनचेतना अभिवृद्धिमार्फत एकताबद्ध प्रयासका लागि प्रत्येक वर्ष डिसेम्बर ५ तारिखका दिन विश्व माटो दिवस मनाउने गरिएको छ ।
खाद्य तथा कृषि सङ्गठन (एफएओ)को सिफारिसमा संयुक्त राष्ट्रसङ्घको ६८औँ महासभाको निर्णयानुसार सन् २०१३ डिसेम्बर ५ तारिकदेखि विश्व माटो दिवस मनाउन थालिएको हाे। यस वर्ष स्वस्थ माटोका लागि स्वस्थ सहर भन्ने नाराका साथ विश्व माटो दिवस मनाउन लागिएको छ।
मङ्सिर १४ गतेदेखि दिवस मनाउन सुरु गरेको मन्त्रालयले (आज) शुक्रबार मूल कार्यक्रम गरी १२औँ विश्व माटो दिवस मनाउन लागिएको हाे । यस वर्ष कृषि विभाग, राष्ट्रिय माटो विज्ञान अनुसन्धान केन्द्र, एफएओ, नेपाल माटो विज्ञान समाज र विभिन्न निकायको सहकार्यमा विश्व माटो दिवस मनाइँदैछ ।
नेपालमा सन् २०१४ डिसेम्बर ५ मा काभ्रेपलाञ्चोकको पाँचखालमा घुम्ती माटो परीक्षण प्रयोगशालाबाट स्थलगत माटो परीक्षणको औपचारिक सुरुआतसँगै विश्व माटो दिवस मनाउन थालिएको हाे ।

December 5, 2025, Jyotishsanchar press