राष्ट्रपति रामचन्द्र पौडेलले विभिन्न ५ वटा विधेयक प्रमाणीकरण गरेका छन्। राष्ट्रपतिले संघीय संसद्को दुवै सदनको बैठकबाट पारित भई पेस भएका विधेयकहरू संविधानको धारा ११३ को उपधारा २ बमोजिम प्रमाणीकरण गरेको राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, सहकारी सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६लाई संशोधन गर्न बनेको विधेयक, आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक र निजीकरण ऐन, २०५० लाई संशोधन गर्न बनेको विधेयक राष्ट्रपति पौडेलले प्रमाणीकरण गरेका हुन्।
नुहाउने क्रममा खोलामा डुब्दा मकवानपुरमा तीन बालकको ज्यान गएको छ।
सोमबार (आज) दिउँसो मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३, सिस्नेरीस्थित सिस्नेरी खोलामा नुहाउन गएका उनीहरूको डुबेर मृत्यु भएको हो।
मृत्यु हुनेमा सोही स्थानका श्यामबहादुर आचार्यका १२ वर्षीय छोरा सुसन आचार्य, १५ वर्षका भान्जाहरू प्रविन घोरासैनी र प्रविस घोरासैनी रहेका छन्।
काभ्रे घर भएका प्रविन र प्रविस दुई दिनअघि मात्रै मामाघर आएका थिए। स्कुल बिदा भएपछि बिदा मनाउन मामाघर आएका उनीहरु मामाको छोरा अर्थात् सुसनसँगै नुहाउनका लागि खोलामा गएका थिए। सोही वडाका वडाध्यक्ष प्रताप भोम्जनका अनुसार प्रविन र प्रविस जुम्ल्याहा दाजुभाइ हुन्।
गत असोजमा आएको बाढीले बनाएको खोलाको खाल्टोमा डुबेर उनीहरुको मृत्यु भएको वडाध्यक्ष भोम्जन बताउँछन्।
‘तीनजना खोलामा नुहाउन भनेर निस्किएछन्,’ उनले भने, ‘अबेरसम्म पनि घर नफर्किएपछि परिवार हेर्न जानुभएछ। खोलाको किनारमा कपडा र चप्पल देखिए पनि बालकहरु नदेखे पछि डुबेको शंकामा खोजतलास गर्दा डुबेको अवस्थामा मृत भेटियो।’
मृत अवस्थामा फेला परेका बालकहरुको मुचुल्का उठाएर पोष्टमार्टमका लागि हेटौंडा अस्पताल पठाउने तयारी भैरहेको इलाका प्रहरी कार्यालय सिस्नेरीले जनाएको छ।
हरिनगर गाउँपालिका–५ स्थित वसन्तपुरमा आगलागी हुँदा ९ घर परिवारको २६ वटा घर टहरा जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।
सोमबार दिउसो सबिर मियाँको भान्सा कोठाबाट सल्केको आगोले २६ घर टहरा जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायब उपरीक्षक योगराज खतिवडाले जानकारी दिए। आगलागी थप फैलिन नदिन ३ वटा घर टहरा भत्काइएको थियो।
सुनसरीको इनरुवा, हरिनगर, दुहबी र इटहरी तथा विराटनगरबाट पुगेको दमकलको सहयोगमा आगलागी नियन्त्रणमा आएको प्रहरीले जनाएको छ। आगलागीबाट कुनै मानवीय क्षति नभए पनि पीडित परिवारको घरको लत्ताकपडा, नगद, गरगहना र खाद्यान्न पूर्ण रूपमा जलेर नष्ट भएको छ।
आगलागीबाट बिचल्लीमा परेका परिवारलाई हरिनगर गाउँपालिकाका अध्यक्ष हाजी गफार अन्सारीले तत्कालको लागि चाहिने आधारभूत राहत उपलब्ध गराएको जानकारी दिए।
काठमाडौँ – तपाईंले चारक्युटेरी बोर्डको भागको रूपमा खजूर खानुभएको हुन सक्छ वा मीठो स्वादको लागि स्मूदीमा थप्नुभएको हुन सक्छ। तर खजूरमा प्राकृतिक मिठास मात्र होइन, धेरै कुराहरू छन्।
तपाईंले चारक्युटेरी बोर्डको भागको रूपमा खजूर खानुभएको हुन सक्छ वा मीठो स्वादको लागि स्मूदीमा थप्नुभएको हुन सक्छ। तर खजूरमा प्राकृतिक मिठास मात्र होइन, धेरै कुराहरू छन्। यो चपाउने फलको प्रत्येक टोकाइ पोषणले भरिपूर्ण हुन्छ। जसले यसलाई आफ्नो आहारको हिस्सा बनाउनु स्वास्थ्यको लागि धेरै फाइदाजनक छ भन्ने प्रमाणित गर्छ।
खजूरमा फाइबर, एन्टिअक्सिडेन्ट, भिटामिन र खनिजहरू प्रशस्त मात्रामा पाइन्छ। मधुमेह नियन्त्रण गर्नुको अलावा, यो मुटुको स्वास्थ्यको लागि पनि धेरै फाइदाजनक छ। केही महिलाहरू विश्वास गर्छन् कि खजूरले प्रजनन क्षमतामा योगदान पुर्याउँछ र प्रसवको गति पनि बढाउँछ।
गर्भावस्थामा खजूर खानुका फाइदाहरू
गर्भावस्थामा खजूर प्रायः सिफारिस गरिन्छ किनभने यसमा फोलेट उच्च मात्रामा हुन्छ, जुन भ्रूणको विकासको लागि महत्त्वपूर्ण भिटामिन बी हो। खजूरमा अक्सिटोसिनको नक्कल गर्ने यौगिकहरू पनि हुन्छन्, जसले स्वस्थ संकुचनलाई सहज बनाउन मद्दत गर्दछ। खजूरमा बोरोन नामक खनिज हुन्छ जसले हड्डी बलियो बनाउन मद्दत गर्छ।
खजूरमा प्रशस्त मात्रामा फलाम हुन्छ
खजूरको नियमित सेवनले हड्डीको स्वास्थ्यमा सुधार ल्याउन सक्छ, विशेष गरी महिलाको उमेर बढ्दै जाँदा खजूरमा प्रशस्त मात्रामा आइरन हुन्छ, जसले टाउकोको छालामा रक्तसञ्चार बढाउँछ र कपालको वृद्धिमा मद्दत गर्छ। तिनीहरू भिटामिन B5 को पनि राम्रो स्रोत हुन्। जसले कपालको फोलिकल्सलाई बलियो बनाउन मद्दत गर्छ।
खजूरमा भिटामिन सी हुन्छ
खजूरमा भिटामिन सी र डी प्रशस्त मात्रामा पाइन्छ, जसले कोलाजेनको वृद्धि र कोमलतालाई बढावा दिन्छ। खजूरमा एन्टिअक्सिडेन्ट हुन्छ। जसले मस्तिष्कको कार्य क्षमतामा सुधार ल्याउन सक्छ। खजूरको ग्लाइसेमिक इन्डेक्स कम हुन्छ, जसको अर्थ यसले रगतमा चिनीको मात्रा बढ्ने सम्भावना कम हुन्छ।
खजूरमा म्याग्नेसियमको मात्रा उच्च हुन्छ। जसले पीएमएसका लक्षणहरू कम गर्न मद्दत गर्न सक्छ। खजूरको बीउ र पातबाट निकालिएको अर्कले ई. कोलाई र निमोनिया लगायत हानिकारक ब्याक्टेरियाको प्रतिरोध गर्न मद्दत गर्न सक्छ।
काठमाडौँ। यही चैत्र २२ गते शुक्रबार नेपालसहित विदेशमा एकसाथ प्रदर्शन हुने फिल्म ‘वसन्त’को नयाँ गीत ‘हेर्दै आँखामा’ आइतबार सार्वजनिक भएको छ ।
उक्त गीतमा चर्चित गायक सुगम पोखरेल र समीक्षा अधिकारीको स्वर छ । शब्द तथा संगीत प्रकाश सपूतको छ ।
यसअघि सार्वजनिक भएका गीत-संगीत, टिजर र ट्रेलरले दर्शकमाझ उच्च चर्चा कमाइसकेको छ । जसले यो फिल्मलाई यस वर्षकै प्रतिक्षित फिल्मको सूचीमा पुर्याएको छ । भारतको गोवा र रसुवाको लाङटाङमा छायांकन गरिएको यो गीतमा प्रकाश सपुत र स्वस्तिमा खड्कालाई रोमान्टिक शैलीमा देख्न सकिन्छ ।
चैत्र २२ गतेबाट रिलिज हुने चलचित्रमा प्रकाश सपूतसँगै स्वस्तिमा खड्का, प्रभात पाल ठकुरी, श्री शिभान्सी, उर्मिला लाम्गादे र खड्क बहादुर पुन (खबपु), अनुप बराल, कमलमणि नेपाल, प्रकाश घिमिरे, विशाल पहारीको अभिनय रहेको छ ।
प्रतिनिधिसभाको सोमबार बसेको बैठकमा विशेष समयमा राष्ट्रिय जनमोर्चाका अध्यक्षसमेत रहेका सांसद चित्रबहादुर केसीले चैत १५ गते तीनकुनेमा भएको घटनाका सन्दर्भमा धारणा राखे । धारणा राख्ने क्रममा केसीले निर्मल निवासमा बसेका पूर्वराजा ज्ञानेन्द्र शाहले भन्नुपर्नेमा शीतलनिवासमा बस्ने भन्न पुगे ।
उनले आफ्नो धारणा राख्दै गए । उनको समय सकिएपछि सभामुख देवराज घिमिरेले उनलाई शीतल निवास नै भन्नुभएको हो कि निर्मल निवास भन्न खोज्दा शीतल निवास भएको भनेर सोधे । चित्रबहादुरले झुक्किएर शीतल निवास भएको बताएपछि सच्याउन सभामुख घिमिरेले सचिवालयलाई निर्देशन दिए ।
भारतको महाकुम्भको मेलामा भाइरल भएकी युवती मोनालिसालाई फिल्ममा काम दिने वाचा गरेका निर्देशक सनोज मिश्रालाई दिल्ली प्रहरीले पक्राउ गरेको छ । सनोजमाथि बलात्कारको गम्भीर आरोप लागेको हो ।
दिल्ली उच्च अदालतले उनको जमानत निवेदन खारेज गरेको थियो । त्यसपछि नबी करीम प्रहरीले उनलाई हिरासतमा लिएको थियो । प्रहरीले सनोज मिश्रमाथि एउटा सानो सहरकी एक युवतीलाई धेरै पटक बलात्कार गरेको आरोप लगाएको बताएको छ । यी केटीले नायिका बन्ने सपना देखेकी थिइन् ।
सनोजले उनलाई फिल्ममा भूमिका दिने वाचा गरेर फोन गरेका थिए । शारीरिक शोषण गरेको र कसैलाई भनेमा फिल्म उद्योगमा काम नपाउने धम्की सनोजले दिएको पीडित महिलाले बताइन् । यस विषयमा उजुरी परेपछि प्रहरीले अनुसन्धान सुरु गरी सनोजलाई पक्राउ गरेको छ ।
महाकुम्भमा भाइरल भएकी थिइन् मोनालिसा महाकुम्भ मेलामा माला बेच्ने मोनालिसालाई आफ्नो फिल्म ‘द डायरी अफ मणिपुर’मा काम दिने प्रस्ताव गर्दा सनोज मिश्राको नाम चर्चामा आएको थियो । आफ्नो सुन्दरता, विशेषगरी आँखाका कारण मोनालिसा सामाजिक सञ्जालमा भाइरल भइन् । सनोज आफैँ मोनालिसाको घर गएर उनलाई फिल्मको लागि साइन गराए र उनको तालिम पनि सुरु गरेका थिए । तर अब यो गिरफ्तारीले मोनालिसाको फिल्मी करियर र छविमाथि प्रश्न उठाएको छ ।
प्रहरीले सनोजविरुद्ध पहिले पनि धेरै उजुरी परेको बताएको छ, तर यसपटक प्रमाणको आधारमा कारबाही गरिएको छ । दिल्ली उच्च अदालतले उनको जमानत अस्वीकार गर्दै मुद्दा गम्भीर छ र अनुसन्धान पूरा नभएसम्म उनलाई हिरासतमा राख्नुपर्छ भनेको छ । यो घटनाले चलचित्र क्षेत्रमा पनि तरङ्ग उत्पन्न गरेको छ ।
बैंक तथा वित्तीय संस्थासहित विभिन्न माध्यमबाट शंकास्पद कारोबार पाँच वर्षयताकै धेरै देखिएको छ।
नेपाल राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०२३/०२४ मा राष्ट्र बैंकले २३ अर्ब रकम बराबरको ७ हजार ३ सय ३८ वटा कारोबार शंकास्पद भेट्टाएको हो।
यो अघिल्लो ५ वर्षयताकै उच्च हो। आर्थिक वर्ष २०१९/२० मा १ हजार ९० वटा यस्ता कारोबार फेला पारेको राष्ट्र बैंकको वित्तीय इन्टेलिजेन्स युनिटले सन् २०२०/२१ मा १ हजार ५ सय ३३ वटा शंकास्पद कारोबार भेट्टाएको थियो।
यसैगरी सन् २०२१/२२ मा २ हजार ७ सय ८० वटा शंकास्पद कारोबार भेट्टाएकामा सन् २०२२/२३ मा ५ हजार ९ सय ३५ वटा कारोबार फेला पारेको थियो।
पछिल्लो २ वर्षको अन्तरालमा शंकास्पद कारोबार १ सय ६३ प्रतिशतले बढेको हो।
सन् २०२२/२३ मा २७ सयबाट यस्तो कारोबार एकैपटक ५ हजार ९ सय वटामा पुगेको देखिन्छ भने त्यसको पछिल्लो वर्ष पनि थप बढेर यस्तो कारोबार ७ हजार माथि पुगेको देखिन्छ।
सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी अनुसन्धान तथा वित्तीय कारोबार व्यवस्थापन गर्न नसक्दा नेपाल सम्पत्ति शुद्धीकरण तथा आतंकवादी गतिविधि मामिलामा निगरानी राख्ने अन्तर्राष्ट्रिय संस्था फाइनान्सियल एक्सन टाक्स फोर्स (एफएटीफ)को ग्रे लिस्टमा परिसकेको छ। गत फागुनमा उक्त संस्थाले शंकास्पद वित्तीय कारोबार बढेको भन्दै गत फागुनमा ग्रे लिस्टमा राखेको थियो।
नेपाल राष्ट्र बैंकको वित्तीय इन्टेलिजेन्स युनिटले गरेको अध्ययनले पनि नेपालमा शंकास्पद वित्तीय कारोबारहरु अत्यधिक रुपमा बढेको देखाएको छ।
गत वर्ष (सन् २०२३/२४) मा मात्रै शंकास्पद कारोबार र शंकास्पद गतिविधि मात्रै २३.३६ प्रतिशतले बढी भएको उक्त युनिटले फेला पारेको छ।
केन्द्रीय बैंकको उक्त युनिटलाई ९ वटा संस्थाहरुले शंकास्पद कारोबार तथा गतिविधिबारे जानकारी गराएका थिए। जसमा सबैभन्दा धेरै नेपाल प्रहरीले ६१५ वटा कारोबारलाई शंकास्पद गतिविधिको भन्दै युनिटलाई खबर गरेको थियो भने राजस्व अनुसन्धान विभागबाट १९७ वटा कारोबारबारे रिपोर्टिङ भएको थियो।
योबाहेक सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले ६० वटा कारोबार फेला पार्दा राष्ट्र बैंकले ३७ वटा शंकास्पद कारोबारबारे युनिटलाई रिपोर्टिङ गरेको थियो।
योबाहेक आन्तरिक राजस्व विभागले ३८ वटा, अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १९ वटा, नेपाल धितोपत्र बोर्डले ३ वटा, समाज कल्याण परिषद्ले २ वटा र नेपाल बीमा प्राधिकरणले एउटा शंकास्पद कारोबारबारे रिपोर्टिङ गराएका थिए।
विभिन्न निकायबाट आएका शंकास्पद गतिविधि तथा उनीहरुले गरेको कारोबारलाई विश्लेषण गर्दा युनिटले सबैभन्दा धेरै बैंक, वित्त, विदेशी विनिमय, सहकारी तथा नेगोसिएबल इन्स्ट्रुमेन्ट (वार्तायोग्य माध्यम)लगायतबाट शंकास्पद कारोबारहरु भएको भेट्टाएको छ। त्यसैगरी चिठ्ठा, दान तथा जुवाहरुमा पनि ७९ वटा कारोबार शंकास्पद भेटेको छ।
योबाहेक कर तिर्दा, ठगी गर्दा, भ्रष्टाचार गर्दा वा घुस लिँदा, हत्या तथा हिंसा फैलाउने, तस्करी गर्ने, मानव बेचबिखन, नागरिकता पासपोर्ट तथा बसाइँसराइ गर्दा, जस्ता १३ वटा कार्यहरुबाट शंकास्पद कारोबार गरेको युनिटले पाएको छ।
७ हजारभन्दा धेरै शंकास्पद कारोबारलाई विश्लेषण गरेको युनिटले वाणिज्य बैंकहरुबाट मात्र २१ अर्बबराबरको ६ हजार १८१ वटा कारोबार फेला पारेको थियो। त्यस्तै विकास बैंकहरुबाट ६८ करोडबराबरका ४९१ वटा कारोबार रिपोर्टिङ हुँदा भुक्तानी प्रदायक कम्पनीहरुबाट ६३ करोड रुपैयाँबराबरका १८१ कारोबार फेला परेको वित्तीय इन्टेलिजेन्स युनिटले जनाएको छ।
यो वर्ष शंकास्पद कारोबार सर्वाधिक देखिनेमा वाणिज्य बैंक र विकास बैंकपछि भुक्तानी प्रदायक कम्पनी तथा डिजिटल वालेटहरु तेस्रो नम्बरमा देखिएका छन्। योबाहेक धितोपत्र खरिदबिक्री गर्दा पनि सेबोन र ब्रोकर तथा धितोपत्रसम्बन्धी कारोबार गर्ने संस्थाहरुले ३ सय ३० करोडको ५२ वटा कारोबारबारे राष्ट्र बैंकलाई रिपोर्टिङ गरेका थिए।
वित्त कम्पनीहरुबाट पनि ४१ करोडबराबरका २१७ वटा कारोबार शंकास्पद रहेको रिपोर्टिङ भएको छ। यीबाहेक बीमा कम्पनीहरुबाट ५ करोड, सहकारीबाट ३ करोड, क्यासिनो तथा सरकारकै अन्य निकायबाट ५० लाख र लघुवित्तबाट ३३ लाखबराबरको शंकास्पद कारोबार फेला परेको थियो।
नेपालमा पछिल्लो समय हुण्डीबाट अवैध मुद्रा भित्रिने गरेको छ। गत चैतमा मात्रै पनि २५ करोडबराबरको विदेशी मुद्रा नेपालमा फेला परेको थियो। यस्ता मुद्राहरु नेपालमा अन्य समयभन्दा धेरै भित्रिरहेको र त्यस्ता रकमबाट नै भ्रष्टाचार घुसखोरी मौलाएको प्रतिवेदनमा उल्लेख गरिएको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार फेरिएसँगै राजनीतिक नियुक्त पाएका व्यक्ति स्वतः हट्ने प्रक्रियाबारे छलफल गर्ने प्रस्ताव गरेका छन्।
सोमबारको राष्ट्रियसभा बैठकमा कुलमान घिसिङ बर्खास्ती प्रकरणमा स्पष्टीकरण दिँदै ओलीले व्यक्तिको विषयमा लिएर संसद विभाजित हुन नहुने बताए।
‘सरकार फेरिँदा स्वतः फेरिने व्यवस्था गरौं, लोकसभाले नियुक्त गरेकाबाहेक अरु स्वतः फेरिने व्यवस्थामा छलफल गरौँ’, उनले भने।
सरकारले कुलमान घिसिङलाई गत हप्ता सोमबार बर्खास्त गरेर नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्यलाई नियुक्त गरेको थियो।
त्योलगत्तै प्रतिपक्षी दलहरुले प्रधानमन्त्रीसँग संसदमै जवाफ मागेपछि रक्षात्मक देखिएका ओलीले सरकार फेरिँदा नियुक्ति पनि फेरिने व्यवस्था गर्नुपर्ने आग्रह गरेका हुन्।
‘व्यक्ति व्यक्तिको नियुक्त वा कुनै कारबाहीका विषयमा संसदले हात हाल्न थाल्यो भने कानुन निर्माणको विषय छुट्छ’, उनले भने, ‘त्यसकारण लोकसेवाबाट नियुक्ति हुनेबाहेक राजनीतिक प्रक्रियाबाट सरकारले नियुक्त गरेका व्यक्तिहरू सरकार फेरिँदा स्वतः फेरिने व्यवस्था अपनाए हुन्छ। त्यो गरौँ।’
उनले सल्लाहकारदेखि महान्यायाधिवक्ता र राष्ट्रिय योजना आयोगसम्म त प्रधानमन्त्री फेरिँदा स्वतः फेरिने व्यवस्था अहिले पनि रहेको बताए। त्यसबाहेक अब अरु पनि राजनीतिक नियुक्ति खासगरी लोकसेवाले नियुक्त गरेकाबाहेक अरुलाई त्यही विधिमा जानुपर्ने उनको भनाइ थियो।
‘त्यसमा सल्लाह गरौँ’, उनले थपे, ‘विशेषगरी प्रतिपक्षीका मान्यज्यूहरूलाई अनुरोध गर्दछु, अहिलेको विषम परिस्थितिलाई हामी मनन गरौँ। यो सामान्य अवस्था होइन।’
यस्तो असामान्य अवस्थामा यस्ता कुराहरूमा अल्झिएर एउटा कर्मचारीको विषयलाई लिएर व्यवस्थामाथि हमला गर्न नहुने उनले बताए।
‘यहाँ सुशासनमाथि यत्रो धज्जी उडाइएको छ। शान्तिसुव्यवस्थामाथि धज्जी उडाइएको छ। मान्छेको निजी घर, पार्टी कार्यालयमा तोडफोड आगजनी गरिएको छ’, तीनकुने घटनालाई लक्षित गर्दै उनले भने, ‘निजी व्यवसायमाथि हमला भएको छ। लुटपाट भएको छ। यस्तो अवस्था छ। प्रहरी हाम्रो दाजुभाइ होइन? उसमाथि जस्तो पनि बोले हुन्छ? प्रहरीलाई लगेर किचिदिए, पेलिदिए हुन्छ?’
प्रतिगमनका लागि यस्तोसम्मको अराजकता देशमा सिर्जना गर्न खोजिएको भन्दै उनले यतिबेला एकजुट भएर जनतालाई जगाउनुपर्ने बताए।