बनेपाको ऐतिहासिक चण्डेश्वरी जात्रा सम्पन्न, तीन दिनसम्म उत्सव

काभ्रे । काभ्रेपलाञ्चोकको बनेपा नगरमा वैशाख पूर्णिमाको अवसरमा मनाइँदै आएको ऐतिहासिक चण्डेश्वरी भगवती जात्रा आइतबार साँझ सम्पन्न भएको छ। तीन दिनसम्म चल्ने यो जात्रा परम्परागत विधिअनुसार भव्य रूपमा सम्पन्न गरिएको हो।

करिब २ हजार ५०० वर्षअघिदेखि सुरु भएको मानिने यस जात्रामा चण्डेश्वरी देवीलाई रथमा विराजमान गराई शनिबार पुरानो बजार क्षेत्रमा रथारोहण गराइएको थियो। आइतबार साँझ देवीलाई पुनः मन्दिरमा फर्काइएपछि जात्रा विधिवत् समापन गरिएको हो।

नेवार समुदायको प्रमुख पर्वका रूपमा रहेको यस जात्राको पहिलो दिन घरघरमा पूजा अर्चना गरिएको थियो भने सरकारी पूजासहित बोकाको बलि दिएर औपचारिक रूपमा जात्रा सुरु गरिएको थियो।

दोस्रो दिन चिराग यात्रा सम्पन्न गरिएको थियो र पाङ्ग्रा नभएको रथलाई धार्मिक विधिअनुसार मन्दिर पुर्‍याई देवीलाई नगर परिक्रमा गराइएको थियो।

अन्तिम दिन देवीको मूर्तिलाई सानो खटमा राखी विभिन्न स्थान हुँदै मन्दिर फर्काइएपछि जात्रा समापन भएको हो। जात्रा अवधिभर भोज, भजन र सांस्कृतिक गतिविधिले बनेपा क्षेत्र उत्सवमय बनेको थियो।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको