काठमाडौं । नेपाली क्रिकेट क्लब डार्मस्टाडले देशमै पहिलो पटक आयोजना हुन लागेको गैरआवासीय नेपाली संघ (एनआरएनए) क्रिकेट टुर्नामेन्टको नेतृत्व गर्ने औपचारिक घोषणा गरेको हो ।
मे ३० र ३१ तारिख (शनिबार र आइतबार) आयोजना हुने प्रतियोगिताले डार्मस्टाडलाई नेपाली क्रिकेटको मुख्य केन्द्रका रूपमा स्थापित गर्ने अपेक्षा गरिएको छ । प्रतियोगितामा जर्मनीका विभिन्न शहरबाट १० टोलीको सहभागिता रहनेछ ।
यो ऐतिहासिक प्रतियोगिता नेपाल डार्मस्टाड क्रिकेट क्लब तथा नेपाल डार्मस्टाड फुटबल क्लबको संयुक्त सहकार्यमा LCC Hessen e.V.को आधिकारिक समर्थनमा आयोजना हुन लागेको आयोजकले जनाएको छ ।
सहभागी टोलीहरूमा ह्याम्बर्ग, बर्लिन, गेटिंगन, एनआरडब्लु, म्युनिख, नूर्नबर्ग, वाइनगार्डन, डार्मस्टाड, म्यानहाइम र गिसेन रहेका छन् ।
प्रतियोगितामा सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिनेछ, जहाँ प्रत्येक समूहमा पाँच टोली रहनेछन् । समूह चरणपछि उत्कृष्ट टोलीहरू नकआउट चरणमा प्रवेश गर्नेछन् ।
प्रतियोगिताका विजेता टोलीलाई २ हजार २ युरो तथा उपविजेता टोलीलाई १ हजार १ युरो नगद पुरस्कार प्रदान गरिने आयोजकले जानकारी दिएको छ ।
प्रतियोगिताको अन्तिम तयारी तीव्र भइरहेका बेला अहिले सबैको ध्यान डार्मस्टाडतर्फ केन्द्रित भएको छ । नेपाली डायस्पोराका लागि यो केवल क्रिकेट प्रतियोगिता मात्र नभई पहिचान, एकता र खेलकुदको ऐतिहासिक उत्सवका रूपमा हेरिएको छ ।
उत्कृष्ट खेलाडीलाई विशेष सम्मान
प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूलाई विभिन्न व्यक्तिगत पुरस्कारसमेत प्रदान गरिनेछ । जसअन्तर्गतः
प्रतियोगिताको उत्कृष्ट खेलाडी
उत्कृष्ट ब्याट्सम्यान
उत्कृष्ट बलर
प्रत्येक खेलको उत्कृष्ट खेलाडी पुरस्कार प्रदान गरिनेछ ।
आयोजकका अनुसार यो कार्यक्रम जर्मनीमा नेपाली समुदायको बढ्दो शक्ति, एकता र क्रिकेटप्रतिको लगावको प्रतीक हो ।
१० शहरका नेपाली टोलीलाई एउटै मैदानमा उतार्दै प्रतियोगिताले समुदायबीचको सम्बन्ध अझ मजबुत बनाउने तथा नेपाली क्रिकेटलाई अन्तर्राष्ट्रिय स्तरमा थप विस्तार गर्ने लक्ष्य राखेको छ ।


