कुशल भुर्तेलको शानदार शतकमा अमेरिकामाथि नेपालको ९ विकेटको सानदार जित

काठमाडौँ । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नेपालले अमेरिकालाई ९ विकेटले पराजित गर्दै शानदार जित हात पारेको छ ।

अमेरिकाले दिएको १९६ रनको लक्ष्य नेपालले ३६ ओभर ४ बलमा मात्र एक विकेट गुमाएर पूरा गर्‍यो । नेपालको जितमा ओपनर कुशल भुर्तेलले अविजित १२० रनको उत्कृष्ट शतकीय इनिङ्स खेले । उनले ११७ बलमा १३ चौका र ४ छक्का प्रहार गरे ।

कुशलले आसिफ शेखसँग पहिलो विकेटका लागि १४५ रनको बलियो साझेदारी गरे । आसिफले ७२ बलमा ५९ रन बनाए । इसान पाण्डे १६ रनमा अविजित रहे । अमेरिकाका लागि मोहम्मद मोहसिनले एक विकेट लिए ।

त्यसअघि त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको अमेरिका ४३ ओभर ३ बलमा १९५ रनमै समेटिएको थियो । अमेरिकाका ओपनर स्मित पटेलले सर्वाधिक ८४ रन बनाए । उनले ८९ बलमा ८ चौका र ३ छक्का प्रहार गरे ।

स्मितले शेहान जयसुरियासँग दोस्रो विकेटका लागि शतकीय साझेदारी गरेका थिए । जयसुरियाले ५० रन बनाए । तर, १२२ रनमा एक विकेट गुमाएको अमेरिकाले त्यसपछि लगातार विकेट गुमाउँदै ठूलो स्कोर बनाउन सकेन ।

नेपालका लागि दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ४ विकेट लिए । सोमपाल कामीले २ तथा सन्दीप लामिछाने र गुल्सन झाले समान १–१ विकेट लिए ।

नेपालले अब आफ्नो तेस्रो खेल सोमबार स्कटल्याण्डसँग खेल्नेछ ।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको