काठमाडौँ । नेपालले आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत स्कटल्याण्डविरुद्ध शानदार ६ विकेटको जित हात पारेको छ । सोमबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा नेपालले १९५ रनको लक्ष्य ३८.१ ओभरमै ४ विकेट गुमाएर पूरा गर्दै ७१ बल बाँकी छँदै सहज जित निकालेको हो ।
पहिले ब्याटिङ गरेको स्कटल्यान्ड ३९.१ ओभरमा १९४ रनमै अलआउट भएको थियो ।
यस जितसँगै नेपाल अंक तालिकाको पाँचौँ स्थानमा उक्लिएको छ । नेपालले २७ खेलबाट २२ अंक जोड्दै समान अंक भएको नामिबियालाई रनरेटमा पछि पारेको हो । नेपालले हालसम्म १० जित, १५ हार बेहोरेको छ भने दुई खेल रद्द भएका छन् ।

