काठमाडौँ । मुस्लिम धर्मावलम्बीहरूको दोस्रो महान् पर्व बकर इद (इदुल जोहा) आज देशभरका मस्जिद तथा इदगाहमा श्रद्धापूर्वक मनाइँदै छ। इदुल फित्र अर्थात् रमजान पर्वको करिब ७० दिनपछि मनाइने बकर इदमा मुस्लिम समुदायले बिहानै स्नान गरी नजिकका मस्जिद र इदगाहमा पुगेर सामूहिक नमाज अदा गर्ने परम्परा छ। नमाजपछि एकापसमा शुभकामना आदानप्रदान गर्ने चलन रहेको छ।
यस अवसरमा काठमाडौँको दरबारमार्गस्थित नेपाली जामे मस्जिद, काश्मिरी मस्जिदलगायत देशभरका मस्जिदमा श्रद्धालुको भीड लागेको छ।
मुस्लिम आयोगका पूर्वअध्यक्ष निर्दोष अलीका अनुसार हिजरी संवत्अनुसार करिब १४३९ वर्षअघि अल्लाहको आदेशमा इब्राहिमले आफ्ना छोरा इस्माइललाई कुर्बानी दिन तयार भएको सम्झनामा यो पर्व मनाउन थालिएको हो।
मुस्लिम धर्मगुरु मौलाना रहमत अलीले इब्राहिमको वंशमा सन् ५७१ मा मक्कामा जन्मिएका मोहम्मद सलल्लाले यस पर्व र इस्लाम धर्मको प्रचार–प्रसारमा महत्त्वपूर्ण योगदान दिएको बताए। उनले हदिस नामक धर्मग्रन्थको रचना गरी धार्मिक शिक्षालाई पुस्तान्तरण गर्न सहयोग गरेको उल्लेख गरे।
बकर इदको मुख्य उद्देश्य हज यात्रा मानिन्छ। साउदी अरबका मक्का र मदिनामा हज गर्न जानु शुभ मानिने भएकाले सरकारले हजयात्रीका लागि विशेष व्यवस्था गर्ने गरेको छ। हजमा जान नसक्ने मुस्लिम समुदायले पनि घरमै पर्व मनाउने गर्छन्।
यस पर्वमा अल्लाहलाई खुसी पार्न इस्लाम धर्मले स्वीकार गरेका जनावरको कुर्बानी दिने प्रचलन छ। धार्मिक विश्वासअनुसार अल्लाहले इब्राहिमको आस्थाको परीक्षा लिन छोरा इस्माइललाई कुर्बानी दिन आदेश दिएका थिए। अन्ततः अल्लाह प्रसन्न भई इस्माइलको सट्टा जन्नतबाट ल्याइएको दुम्बाको कुर्बानी भएको मान्यता छ।
परम्पराअनुसार कुर्बानी गरिएको मासु तीन भागमा बाँडिन्छ। एक भाग गरिब तथा विपन्नलाई, अर्को आफन्त र इष्टमित्रलाई तथा तेस्रो भाग परिवारका लागि राख्ने चलन रहेको छ।
मुस्लिम समुदायले यो पर्व तीन दिनसम्म मनाउने गर्दछन्। तीनै दिन कुर्बानी दिने धार्मिक परम्परा रहेको नेपाली जामे मस्जिदले जनाएको छ। पर्वका अवसरमा सरकारले आज सार्वजनिक बिदा दिएको छ।

