विश्व चिल्ड्रेन्स बेसबल फेयरमा सहभागी हुन नेपाली टोली जापान जाँदै

काठमाडौँ । ३२औँ विश्व चिल्ड्रेन्स बेसबल फेयरमा सहभागी हुन पाँच खेलाडीसहित ६ सदस्यीय नेपाली टोली बुधबार जापानको नारिता प्रस्थान गर्ने भएको छ।

जुलाइ ३० देखि अगस्ट ७ सम्म वर्ल्ड चिल्ड्रेन्स बेसबल फाउन्डेसनको आयोजनामा हुने फेयरमा अभिनय श्रेष्ठ, संकल्प पौडेल, युएल रोक्का, भूमिका खड्का र खुशी श्रेष्ठले नेपालको प्रतिनिधित्व गर्नेछन् भने टोलीका प्रशिक्षक विपिन वज्राचार्य रहेका छन्। नेपालसहित १४ राष्ट्रको सहभागिता रहने फेयरमा खेलाडीहरूले प्रशिक्षण क्लिनिक, मैत्रीपूर्ण प्रतियोगिता तथा निप्पोन प्रोफेसनल बेसबल खेल अवलोकन गर्ने अवसर प्राप्त गर्नेछन्।

नेपाल बेसबल तथा सफ्टबल संघका अनुसार सहभागीहरूको सम्पूर्ण खर्च आयोजकले व्यहोर्नेछ भने प्रत्येक खेलाडीले करिब १ लाख रुपैयाँ बराबरका खेल सामग्री र पोशाक पनि प्राप्त गर्नेछन्। टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रामचरित्र मेहता र युवा तथा खेलकुद मन्त्रालयका सल्लाहकार राजु सिंहले सोमबार सफलताको शुभकामनासहित बिदाइ गरेका छन्।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको