आजदेखि वर्षाका गतिविधि बढ्ने

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले न्यूनचापीय रेखा उत्तरतर्फ भएकाले फेरि केही दिन वर्षाका गतिविधि बढ्ने जनाएको छ । शनिबार पनि देशभर बदली भई ठाउँठाउँमा वर्षा भएको छ भने यो क्रम आज आइतबारदेखि झन् बढ्ने जनाइएको हो ।

आजदेखि न्यूनचापीय रेखा उत्तरतर्फ गएकाले तराईमा समेत वर्षा हुने देखिएको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् शान्ति कँडेलले जानकारी दिइन् । उनका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहनुका साथै मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा केही उत्तरतर्फ अवस्थित छ ।

वर्षा हुने प्रणाली सक्रिय भएकाले अबको तीन दिन वर्षाका गतिविधि बढ्ने मौसमविद् कँडेलले बताइन् । अहिले कोशी र बागमती प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। महाशाखाले राति कोशी, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ ।

आगामी केही दिन मधेस प्रदेशलगायत देशभर मनसुन थप सक्रिय हुने देखिएकाले सर्वसाधारण तथा सबै सरोकार भएका निकायमा पछिल्लो मौसमी सूचनाको जानकारी लिन महाशाखाले शनिबार साँझ बुलेटिनमार्फत सार्वजनिक अनुरोध गरेको छ ।

तराई क्षेत्रमा आइतबार रातिदेखि साधारणतया बदली रही अधिकांश स्थानमा मेघगर्जन, चट्याङसहित मध्यमदेखि भारी वर्षा हुने सम्भावना रहेको छ । सोमबार कोशी, मधेस, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही क्षेत्रमा भारी वर्षा हुने जनाइएको छ ।

Winter Rain

August 3, 2025, Jyotishsanchar press

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको