काभ्रे।बाढीका कारण बीच बाटोमा अलपत्र परेका ६०० यात्रुहरुलाई आज दिउँसो जिल्ला प्रहरी कार्यालय काभ्रेको सहयोगमा सुरक्षित उद्धार गरिएको छ।
रोशी खोलामा आएको बाढीका कारण यात्रु बीच बाटोमै अलपत्र परेका थिए। लगातार दुई दिनदेखि परेको अविरल वर्षका कारण रोशी खोलामा आएको बाढीले बीपी राजमार्ग तहसनहस बनाएको थियो। उद्धारका क्रममा मङ्गलटार को झोलुङ्गे पुल मार्फत पारी तिमाल गाउँपालिका हुँदै भकुण्डे पुर्याएको थियो
अलपत्र परेका यात्रुहरुलाई नेपाल प्रहरी र स्थानीय व्यापारीहरूको समन्वयमा फलफूल, चाउचाउ, फ्रुटी र पिउने पानी वितरण गरेको थियो ।
हालसम्म पनि मंगलटार क्षेत्रमा करिब ८० वटा सवारी साधन रोकिएका छन्। ती सवारीका चालक र सहचालक गरी झण्डै १२०–१२५ जना सोही स्थानमा बसिरहेका छन्। डाइभर्सन बगाएकाले सवारी साधनहरू तत्काल सञ्चालन गर्न सकिने अवस्था छैन, जसका कारण काठमाडौँ र सिन्धुलीतर्फ आवागमन अझै प्रभावित रहेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ।
यसैबीच वर्षा हुने क्रम केही घटेसँगै रोशी गाउँपालिका का अध्यक्ष दिनेश लामाका अनुसार डाइभर्सन पुनः निर्माणको काम सुरु गरिएको छ। रोशी खोलाले चौकीडाँडा, घुमाउने, नार्के, चिउरीबास, कालढुंगा, डालाबेंशी, बुलढुंगा र माम्ती गरी आठ स्थानमा डाइभर्सन बगाएको जानकारी पनि प्रहरीले दिएको छ।
सडक पुनः सञ्चालनमा आउन अझै केही समय लाग्ने देखिएकाले यात्रुहरूलाई वैकल्पिक मार्ग अपनाउन वा आवश्यक परे यात्रा स्थगित गर्न सुझाव दिइएको छ।

