पुत्रदा एकादशीको महत्व के छ ?

पं-बालमुकुन्द देवकोटा

काठमाडौँ । २०८२ साल श्रावण २० गते मंगलबार श्रावण शुक्ल पुत्रदा एकादशी तिथी बिहान ११ / ३१ बजेसम्म त्यस उप्रान्त द्वादशी तिथी आरम्भ हुनेछ ।

पद्मपुराणमा उल्लेख भए अनुसार एक पटकको कुरा हो, युधिष्ठिरले भने- हे भगवन ! श्रावण शुक्ल एकादशीको नाम के हो? व्रत गर्ने विधि तथा यसको माहात्म्य कृपा गरी भन्नुहोस। भगवान् मधुसूदनले उनका जिज्ञासा शमन गर्ने उद्देश्यले बताउनु भयो- “कथां पापहारां पराम् ,यस्या :श्रवणमात्रेण वाजपेयफलं लभेत् “। अर्थात् समस्त पापहरुलाई नाश गर्ने र यो एकादशीको नाम र कथा सुन्नाले मात्रै पनि वाजपेय यज्ञ गरेको फल प्राप्त हुन्छ। यो दिन भगवान लक्ष्मीनारायणको तिल , तुलसी , श्रीखण्ड , बास्ना आउने फूलहरुद्वारा पूजा , अर्चना गरी रातमा भगवानको सन्निधिमा दिपमालिका र प्रभुको नामसंकिर्तन गरेर जाग्राम बस्नुपर्दछ। यस एकादशीको नाम पुत्रदा हो।

अब तिमी शान्तिपूर्वक यसको कथा सुन ! द्वापर युगको आरम्भमा महिष्मति नामको एउटा नगरी थियो, जसमा महीजित नामका राजा राज्य गर्थे , तर पुत्रहीन भएका कारण राजालाई राज्य सुखदायक लाग्दैनथ्यो। जसका सन्तान छैनन्, त्यसका निम्ति यो लोक लोक र परलोक दुबै नै दु:खदायक हुन्छन् भन्ने उसको मान्यता थियो। पुत्रसुखको प्राप्तिका निम्ति राजाले अनेक उपाय गरे, तर राजाले पुत्र प्राप्ति गर्न सकेनन् । वृद्धावस्था आउन लागेको देखेर राजाले प्रजाका प्रतिनिधि बोलाए र भने- हे प्रजाजन ! मेरो भण्डारमा अन्यायले उपार्जन गरेको धन पनि छैन। न मैंले कहिल्यै देवता तथा ब्राह्मणको धन नै हरण गरेको छु। कोहीकसैको नासो पनि मैंले हरण गरेको छैन, प्रजालाई पुत्रसमान पालन पनि गरैकै हो। म अपराधीहरूलाई पुत्र तथा बन्धुवान्धव ठानेर दण्ड दिने गर्थे। कहिल्यै कसैसँग घृणा पनि गरेको छैन। सबैलाई समान मानेको छु। सज्जनहरूको सदैव पूजा र सम्मान गरेको छु। यसरी धर्मयुक्त राज्य गर्दागर्दै पनि मेरा पुत्र छैनन् । अतः म अत्यन्त दु:खी छु, यसको के कारण के हो ?

राजा महीजितका यी कुरा सुनेपछि यी रहस्य पहिल्याउन मन्त्री तथा प्रजाका प्रतिनिधि वनतर्फ गए । त्यहाँ ठूला-ठूला ऋषि-मुनिहरूको दर्शन गरे। राजाका उत्तम कामनाका पूर्तिका लागि कुनै श्रेष्ठ तपस्वी मुनिलाई खोज्न थाले। एउटा आश्रममा तिनले एक जना अत्यन्त वयोवृद्ध धर्मज्ञ, ठूला तपस्वी, परमात्मामा निरन्तर मन लगाउने, निराहार, जितेन्द्रीय, जितात्मा, जितक्रोध, सनातन धर्मका गूढ तत्वलाई जान्ने, समस्त शास्त्रका ज्ञाता महात्मा लोमश मुनिलाई देखे, जुन मुनिको कल्प व्यतीत भएपछि एउटा रौं झर्थ्यो। सबैले गएर ऋषिलाई प्रणाम गरे। ती मानिसलाई देखेर मुनिले सोधे- हजुरहरू के कारणले पाल्नु भएको हो ? नि:सन्देह म हजुरहरूको हित गर्नेछु। मेरो जन्म केवल अर्काको उपकारका निम्ति भएको हो, यसमा सन्देह गर्नु पर्दैन।

लोमश ऋषिका यस्ता वचन सुनेर सबैजनाले भने- हे महर्षे ! हजुर हाम्रा कुरा बुझ्न ब्रह्माजत्तिकै समर्थ हुनुहुन्छ। अत: हजुरले हाम्रो यस सन्देहलाई निवारण गर्नुहोस् । महिष्मति पुरीका धर्मात्मा राजा महीजित प्रजाको पालन पुत्रवत् गर्दछन् र पनि उनी पुत्रहीन हुनुपर्ने कारण के हो। उनीहरूले ऋषिलाई बिन्ती गरे- हामी उनका हौं। अत: उनको दु:खबाट हामी पनि दु:खी छौं । हजुरको दर्शनले हामीलाई पूर्ण विश्वास सिर्जना भएको छ कि हाम्रो यो संकट अवश्यमेव हट्नेछ किनभने महान पुरुषहरूको दर्शनले मात्र पनि अनेक कष्ट दूर हुन पुग्छन् । अब हजुरले कृपा गरी राजाको छोरो जन्मने उपाय बताउनु होस।

यो अनुरोध सुनेर ऋषिले केहीबेरका लागि नेत्र बन्द गर्नुभयो र राजाको पूर्वजन्मको वृत्तान्त जानेर भन्न थाल्नुभयो- यी राजा पूर्वजन्ममा एउटा निर्धन वैश्य थिए। निर्धन भएका कारण उनले कतिपय कुकर्म गरे। यी त्यतिबेला एउटा गाउँबाट अर्को गाउँमा व्यापार गर्न जाने गर्दथे । एक पटक ज्येष्ठ मासको शुक्ल पक्षको द्वादशीका दिन मध्याह्नको समयमा जबकि उनी दुई दिनदेखि भोकै थिए, एउटा जलाशयमा पानी खान गए। त्यसै स्थानमा भर्खरै ब्याएको एउटा गाई पनि पानी खाँदैथियो। राजा त्यस तिर्खाएको गाईलाई हटाएर स्वयं आफू जलपान गर्न थाले, त्यसैले राजाले यो दु:ख सहनु परेको हो। एकादशीका दिन भोकै बसेकाले ती अर्को जन्ममा राजा भए र तिर्खाएको गाईलाई जलपानका अवस्थामा अवरोध पुर्याएकाले पुत्रवियोगको दु:ख सहनु परेको हो।

यस्ता ऋषिका वचन सुनेर सबैले पुनः आफ्ना जिज्ञासा राखे- हे ऋषि ! शास्त्रमा पापको प्रायश्चित पनि उल्लेख गरेको हुन्छ। अत: जसो गरी हाम्रा राजाको यो पाप नष्ट हुन्छ, हजुरले त्यस्तो उपाय बताउनुहोस। लोमश मुनिले आज्ञा गर्नुभयो- श्रावण शुक्ल पक्षको एकादशीलाई पुत्रदा एकादशी भन्दछन्, त्यस दिन तिमीहरू सबैले व्रत गर्नुपर्छ र रात्रिकालमा जागरणसमेत गर्नुपर्छ, त्यसो गरेमा यस राजाको पूर्वजन्मको सम्पूर्ण पाप नष्ट हुनेछन्, साथै राजाले पुत्रप्राप्ति पनि गर्नेछन् । लोमश ऋषिका यस्ता दिव्य उपदेश सुनेर मन्त्रीसहित सारा प्रजा नगरतर्फ फर्किए र सबैले श्रावण शुक्ल पुत्रदा एकादशीको व्रत लिए र जागरण गरे। यसपछि द्वादशीका दिन यस व्रत र जागरणको पुण्यको फल राजालाई अर्पण गरिदिए। त्यस पुण्यको प्रभावले रानीले गर्भ धारण गरिन् र प्रसवकाल समाप्त भएपछि उनले एउटा असाध्यै तेजस्वी पुत्र जन्माइन् । त्यसैले हे राजन ! यस श्रावण शुक्ल एकादशीको नाम पुत्रदा एकादशी राखिएको हो। अत: सन्तानसुखको इच्छा हुने भक्तजनले यस व्रतलाई लिनुपर्छ। यसको माहात्म्यलाई सुन्नाले मात्र मनुष्य सबै पापबाट मुक्त हुनपुग्छ र यस लोकमा सन्तान-सुख भोगेर परलोकमा स्वर्ग प्राप्त गर्छ।

66bf225b35994

August 5, 2025, Jyotishsanchar press

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको