श्रीनगर । भारतको काश्मीर क्षेत्रमा आएको भीषण वर्षापछिकाे बाढीले ठूलो जनधनको क्षति भएको छ । स्थानीय प्रशासनका अनुसार, किष्टवार जिल्लामा बिहीबार बिहान एकाएक बादल फाटेर आएको बाढीमा परी कम्तीमा ३७ जनाको ज्यान गएको छ, भने दर्जनौं घाइते भएका छन् ।
“समाचार अत्यन्तै पीडादायक छ,” काश्मीरका मुख्यमन्त्री ओमर अब्दुल्लाहले विज्ञप्तिमा उल्लेख गर्दै किष्टवारमा तीव्र वर्षाका कारण ठूलो क्षति पुगेको जानकारी दिए । बाढीबाट प्रभावित व्यक्तिहरूलाई उद्दार गर्न प्रयास जारी छ । किष्टवारका जिल्ला आयुक्त पंकज कुमार शर्माले भने,“हामीले हालसम्म ३७ शव फेला पारिसकेका छौं र ३५ जना घाइतेको उद्धार गरिएको छ । अझै पनि केही व्यक्तिहरु हराइरहेका छन् ।”
नजिकैको अथोली गाउँका एक स्थानीय बासिन्दा सुशील कुमारले एएफपीसँगको कुराकानीमा भने,“मैले आफ्नै आँखाले १५ जना मृतकहरूलाई अस्पतालमा ल्याइएको देखेँ ।” प्राकृतिक प्रकोपपछि उद्धार कार्य निकै चुनौतीपूर्ण बनेको छ, किनभने बाढीपछिका निरन्तर वर्षाले बाटोहरू ध्वस्त बनाएका छन् । घटनास्थल श्रीनगरबाट झण्डै २०० किलोमिटर टाढा रहेको कारण पनि उद्धार टोली पुग्न कठिन भइरहेको छ।एजेन्सी

August 15, 2025, Jyotishsanchar press

