इकोहिमाल र डेडीथुम्का माविको सहयोगमा स्वआर्जित छात्रवृत्ती कार्यक्रम शुरु

ज्ञानमणि नेपाल कालोटोपी

कुन्तावेंसी । काभ्रेको मण्डनदेउपुर नगरपालिका वडा नम्बर ९ मा रहेको डेडीथुम्का माध्यमिक विद्यालयमा स्वआर्जित छात्रवृत्ती कार्यक्रमको शुरुवात गरिएको छ ।

इकोहिमालको आर्थिक र विद्यालयको प्राविधिक सहयोगमा विद्यार्थीहरुलाई स्वआर्जन गराउने उद्देश्यले कार्यक्रमको शुरुवात गरिएको हो । यो कार्यक्रमको विद्यालयका प्रधानाध्यापक शिवकुमार पौडेलले सोमबार उद्घाटन गर्नुभयो । कार्यक्रम अन्तर्गत कक्षा ६ देखि ८ सम्म अध्ययन गर्ने ७ जना विद्यार्थीहरुले आफ्नै व्यवसाय शुरु गरेका छन् । यसमा विद्यालय समयमा पनि खाजा खाने समय र त्यतिकै खेर जाने समयको सदूपयोग गर्दै उनीहरुले हप्तामा २ दिन समय व्यवसायका लागि दिन्छन् । यो व्यवसायका लागि इकोहिमालले प्रतिविद्यार्थी ८ हजार तथा विद्यालयकै विभिन्न कोशमा जम्मा भएको रकमसहित गरि एक लाख १६ हजारमा स्टेशनरी पसल शुरु गरिएको हो ।

विद्यालयकै हातामा संचालनमा ल्याइएको यो पसलमा अन्य पसलमा भन्दा सहुलियतमा किताब, कापी, कलम, शिशाकलमलगायतका स्टेशनरी सामानहरु खरिद गर्न पाइनेछ । यसबाट आएको नाफा विद्यार्थीहरुले नै बाँढेर लिन सक्नेछन् भने मूल लगानी खर्च गर्न पाइँदैन । एकपटकमा ७ जना विद्यार्थीले २ वर्षसम्म व्यवसाय गर्न पाउनेछन् । पढ्दै कमाउँदै कार्यक्रम अन्तर्गत यसरी विद्यार्थी छनौट गरिएको डेडीथुम्का माविका प्रधानाध्यापक शिवकुमार पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार यो कार्यक्रम करिब ५ वर्षदेखि नगरका अन्य विद्यालयमा पनि शुरु गरिएको छ । अन्यत्र विद्यालयमा बाख्रापालन तथा कुखुरापालन गरि शुरु गरिएको कार्यक्रम यहाँ भने नयाँरुपमा स्टेशनरी व्यवसाय संचालन गरेर शुरु गरिएको पनि उहाँले बताउनुभयो ।

यहाँ व्यवसाय संचालनका लागि कार्यविधि बनाइएको छ । सो कार्यविधिमा रहेर विद्यार्थीहरुले काम गर्नुपर्नेछ । विद्यालयका प्रधानाध्यापक अध्यक्ष रहने यो कार्यक्रममा यसपटक कक्षा ६ का दीक्षा तामाङ, कक्षा ७ का निमा तामाङ र कक्षा ८ का करण राई, स्विकृति गौतम, कविता लम्साल, हंसा कन्दङ्वा र सोनिया विक छानिएका छन् ।

मुलतः तीन वटा उद्देश्यका लागि कार्यक्रम थालिएको प्रधानाध्यापक पौडेलले जानकारी दिनुभयो । विद्यार्थीहरुले व्यवसायिक सीप सिक्न सकून्, श्रम गर्न सिकुन् र उनीहरुलाई आफूलाई आवश्यक विद्यालय सामाग्री खरिदका लागि आर्थिक सहयोग पुगोस् भनेर यो कार्यक्रम शुरु गरिएको हो । यो कार्यक्रममा प्रत्येक २ वर्षमा नयाँ व्यवसायी थपिन्छन् ।

यस्तै इकोहिमालकै सहयोगमा विद्यार्थीहरुले बाख्रापालन र कुखुरापालन कार्यक्रममा पनि आफूलाई सहभागी बनाएका छन् । जसमा बाख्रापालनका लागि प्रतिविद्यार्थी ८ हजार र कुखुरापालनका लागि प्रतिविद्यार्थी २० वटा कुखुराका चल्ला वितरण गरि कार्यक्रम भइरहेको छ । नगरपालिकाका विभिन्न गतिविधिहरुमा इकोहिमालले आफ्नो उपस्थिती जनाइरहेको छ । विद्यालयहरुलाई वृक्षारोपणका लागि बिरुवाहरु उपलब्ध गराउनेदेखि आवश्यक तालिमहरु पनि दिँदै आइरहेको संस्थाका प्रतिनिधि धर्मराज पौडेलले जानकारी दिनुभयो ।

विगत केही वर्षअघिसम्म विद्यार्थीको नतिजा कमजोर रहेको यस विद्यालयमा अहिले भने उल्लेख्य सुधार आएको छ । ०८१ को एसईई परीक्षामा यस विद्यालयले शतप्रतिशत नतिजा ल्याएको छ । यो विद्यालयको अहिलेसम्मको इतिहासमै पहिलो ठूलो सफलता हो । हाल यहाँ कक्षा १ देखि १२ सम्ममा ३५८ जना विद्यार्थी अध्ययनरत रहेका छन् ।

1

August 18, 2025, Jyotishsanchar press

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको