काठमाडौँ। अष्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजमा नेपाल पाकिस्तान साहिन्ससँग एक रनले पराजित भएको छ।
सेमिफाइनलमा पुग्नका लागि जित्नै पर्ने खेलमा नेपाल अन्तिम ओभरमा कमजोर बन्यो । यस हारसँगै ११ टोली सहभागी प्रतियोगिताबाट नेपाल बाहिरिएको छ।
डार्विनको मरारा क्रिकेट मैदानमा शुक्रबार भएको रोमाञ्चक खेलमा जितका लागि एक सय ४५ रनको मध्यम लक्ष्य पछ्याएको नेपाल निर्धारित २० ओभरमा सात विकेटको क्षतिमा एक सय ४३ रनमा समेटियो ।
नेपालका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ५२ रन बनाउनुभयो । उहाँले ४४ बलमा ६ चौका र एक छक्काको सहयोगमा अर्धशतक पूरा गर्नुभएको हो । यस्तै दीपेन्द्रसिंह ऐरीले ४१, आशिफ शेखले २७ र लोकेश बमले १० रन बनाउनुभयो । बलिङमा पाकिस्तानका मोहमद वासिम र फैसल अकरमले दुई दुई तथा मोहमद सलमानले एक विकेट लिनुभयो ।
यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको पापिस्तानले निर्धारित २० ओभरमा नौ विकेटको क्षतिमा एक सय ४४ रन बनाएको थियो । पाकिस्तानका लागि इरफान खानले सर्वाधिक ४२ रन बनाउँदा अब्दुल समदले सर्वाधिक २६ रन जोड्नुभयो । मोहम्मद वसिमले २३, यासिर खानले १८ रन बनाउँदा मेहरान मुमताजले १० रन थप्नुभयो ।
नेपालका लागि सोमपाल कामीले तीन विकेट लिँदा, दीपेन्द्रसिंह ऐरी र नन्दन यादवले दुईदुई विकेट लिँदा कुशल भुर्तेलले एक विकेट हात पार्नुभयो । नेपालका लागि चार ओभर बलिङ गर्दा सन्दीप लामिछाने २८ रन दिएर विकेटबिहीन बन्नुभयो ।

August 23, 2025, Jyotishsanchar press

