काठमाडौँ । बडादशैंको पाँचौं दिन आज हिन्दूधर्मालम्बीहरूले देवी स्कन्दमाताको पूजा–आराधना गर्दैछन् । भगवान स्कन्दकुमार कार्तिकेयको बालस्वरुपलाई सदैव काखमा राखी ममतामयी स्नेह प्रदान गर्ने हुनाले नवरात्रीको पाँचौं दिन यिनलाई स्कन्दमाताको नामबाट पुकार्ने गरिन्छ ।
भगवान् कार्तिकेयको एक नाम स्कन्द पनि हो । जो ज्ञानशक्ति र कर्मशक्तिका सूचक थिए । त्यस्तै ज्ञानशक्ति र कर्मशक्तिको देवी स्वरुपलाई स्कन्दमाता नामले चिन्ने गरिएको हो ।
चार हातमध्ये दायाँतर्फको माथिल्लो हातले स्कन्दकुमार कार्तिकेयलाई काखमा च्याप्दै बायाँतर्फको तल्लो हातमा कमलको फूल र माथिल्लो हातले बरमुद्रा धारण गर्ने यिनी पद्मासनसहित सिंहमा सवार रहन्छिन् । सूर्य मण्डलकी अधिष्ठात्री देवी हुनाले यिनको वर्ण पनि सूर्यकै जस्तै देदिप्यमान हुने बताइन्छ ।

September 26, 2025, Jyotishsanchar press

