काभ्रेका अग्रज बामपन्थी नेता ‘गोविन्दनाथ उप्रेती’ काे निधन

काभ्रे । काभ्रेका अग्रज बामपन्थी नेता गोविन्दनाथ उप्रेतीकाे निधन भएकाे छ । उहाँकाे ८७ वर्षकाे उमेरमा साेमबार निधन भएकाे हाे । नेकपा एमालेबाट लामाे समय राजनीति गर्नुभएका उहाँ पूर्व श्रम राज्यमन्त्रीसमेत हुनुहुन्थ्याे । काभ्रेको भुम्लु गाउँपालिका उहाँकाे स्थायी घर हाे । पुराना कम्युनिष्ट नेता उप्रेती तीन पटक सांसद हुनुभयो ।

कुनै बेला उप्रेती काभ्रे जिल्लाको रातो बाघको रूपमा परिचित हुनुहुन्थ्यो । खासगरी काभ्रेको कोशीपारी क्षेत्रको विकासको पर्याय मानिनुहुथ्यो उप्रेती । हक्की र स्वाभिमानी स्वभावका उप्रेती जनताका समस्यालाई आफूसँग जोड्नु हुन्थ्यो । नागरिकका पीडालाई आफ्नो पीडा ठान्नुहुन्थ्यो ।

काभ्रेको कोशीपारी क्षेत्रमा सडक निर्माणमा उहाँको ठूलो योगदान छ । उहाँले त्यस क्षेत्रमा सडक अभियान नै चलाउनुभयो । त्यसैले गाउँ गाउँमा सडक पुगे । दुर्गम मानिने कोशीपारीका गाउँ सुगम बने ।

गोविन्दका सन्तान थिएनन् । श्रीमतीको पनि केही वर्षअघि निधन भयो । त्यसपछि कुनै जमानाका काभ्रेली जनताका ढुकढुकी गोविन्द एक्लो हुनुहुन्थ्याे । विसं २०२५ सालदेखि राजनीतिमा लाग्नुभएका उप्रेती पछिल्लाे समय कम्युनिष्टहरु फुटेकाप्रति चिन्तित हुनुहुन्थ्याे ।

उहाँ ०४८ र ०५१ सालका निर्वाचनहरुमा तत्कालिन काभ्रे क्षेत्र नम्बर ३ र ४ बाट एमालेका तर्फबाट उम्मेद्वार हुनुभयाे । उहाँका प्रतिश्पर्धीमा नेपाली कांग्रेसबाट राजेन्द्र खरेल हुनुहुन्थ्याे । पछि ०५६ सालमा वामदेव गाैतमले एमाले फुटाएर माले गठन गर्दा उप्रेती मालेमा लाग्नुभयाे र चुनाव लड्नुभयाे । याे पटक भने उहाँ पराजित हुनुभयाे । त्यस यता उहाँले ०६४ सालकाे संविधान सभा निर्वाचनमा स्वतन्त्रबाट उम्मेद्वारी दिनुभएकाे थियाे ।

पछिल्लाे समय उहाँ फाेक्साेसम्बन्धी राेगबाट पीडित हुनुहुन्थ्याे । उहाँलाई तीन वर्षदेखि बाँच्ने साहारा अक्सिजन नै थियाे । राजनीतिक जीवन जे जस्ताे भए पनि काभ्रे र विशेषगरि काेशीपारीकाे विकासमा उहाँकाे याेगदान उल्लेखनिय छ । जसलाई आमनागरिकले कहिले पनि बिर्सने छैनन् ।

Screenshot 2026 01 19 083008

January 19, 2026, Jyotishsanchar press

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको