काठमाडौँ । निर्वाचन आयाेगले निर्वाचन प्रचारप्रसारमा बालबालिकाको प्रयोग नगर्न नगराउन राजनीतिक दल र उम्मेदवारहरुलाई आग्रह गरेकाे छ । आयाेगले भनेकाे छः प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२ मा सहभागी राजनीतिक दल वा उम्मेदवारले आफ्नो झण्डा वा निर्वाचन चिन्ह बोक्ने कार्यमा, सांस्कृतिक कार्यक्रममा, र्यालीमा, अमुक दल वा उम्मेदवारविरुद्धका गतिविधिमा, झण्डा वा निर्वाचन चिन्ह अङ्कित भेष्ट/टिसर्ट/लोगो जस्ता चिजहरू प्रदर्शन गर्ने कार्यमा बालबालिका सहभागी गराउने गरेको र विद्यालय समयमा विद्यालय नजिकै राजनीतिक दल वा उम्मेदवारका चुनावी गतिविधि सम्बन्धी कार्यक्रम आयोजना गरी शैक्षिक कार्यमा अवरोध सिर्जना भएका विषयहरूमा उजुरी तथा गुनासो निर्वाचन आयोगमा प्राप्त भएका छन् ।
नेपालको संविधानको धारा ३९ ले प्रत्येक बालबालिकालाई परिवार तथा राज्यबाट शिक्षा, स्वास्थ्य, पालन-पोषण, उचित स्याहार, खेलकुद, मनोरञ्जन तथा सर्वाङ्गीण व्यक्तित्व विकासको हक हुने समेतका व्यवस्था गरेको छ। बालबालिका सम्बन्धी ऐन, २०७५ को दफा ३ को उपदफा (२) “नेपाल सरकार, प्रदेश सरकार र स्थानीय तहले बालबालिकाको बाँच्न पाउने अधिकार र बालबालिकाको विकासको लागि बालबालिकामाथि हुन सक्ने दुर्घटनाको रोकथाम, जोखिमको न्यूनीकरण लगायतका प्रतिरोधात्मक र सुरक्षा सेवाका लागि आवश्यक उपाय अवलम्बन गर्नेछन्” भन्ने व्यवस्था रहेको छ।
ऐ. ऐनको दफा १५ को उपदफा (२) मा “प्रत्येक बालबालिकालाई प्रचलित कानुन बमोजिम आधारभूत तहसम्मको शिक्षा अनिवार्य र नि:शुल्क तथा माध्यमिक तहसम्मको शिक्षा नि:शुल्क रूपमा बालमैत्री वातावरणमा पाउने अधिकार हुनेछ” भन्ने व्यवस्था रहेको छ। ऐ. ऐनको दफा १६ को उपदफा (१) मा “बालबालिकासँग सम्बन्धित कार्य गर्ने प्रत्येक निकाय तथा संस्थाका अधिकारीले हरेक काम कारबाही गर्दा बालबालिकाको सर्वोत्तम हितलाई प्राथमिकता दिई आवश्यक बालमैत्री प्रक्रिया अपनाउनु पर्नेछ” भन्ने व्यवस्था रहेको छ।
कानुनद्वारा प्रत्याभूत बालबालिकाको अधिकारको संरक्षण तथा संवर्द्धन गर्दै अधिकारको प्रचलन र परिपालना गर्न/गराउन निर्वाचन आयोग नेपाल सरकार, प्रदेश सरकार र स्थानीय तहहरुको ध्यानाकर्षण गराउँछ। निर्वाचन आचारसंहिता विपरीतका कार्य गरे गराइएको पाइएमा प्रचलित कानुन बमोजिम कारबाही हुने ब्यहोरासमेत जानकारी गराइन्छ।

February 24, 2026, Jyotishsanchar press

