काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव देखिएको जनाएको छ। जसका कारण गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशसहित कोशी र बागमती प्रदेशका हिमाली तथा पहाडी भागमा सामान्यतया बादल लागेको छ।
आज दिउँसो देशका हिमाली भागमा सामान्यतया बादल लाग्ने तथा बाँकी पहाडी र तराई क्षेत्रमा आंशिक बदली रहने पूर्वानुमान गरिएको छ । कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागका थोरै स्थान तथा अन्य हिमाली क्षेत्रमा एक–दुई स्थानमा चट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ।
राति गण्डकी र कर्णाली प्रदेशका हिमाली क्षेत्रमा सामान्यतया बादल लाग्ने तथा गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई क्षेत्रमा आंशिक बदली रहनेछ। बाँकी भूभागमा भने मौसम मुख्यतया सफा रहने बताइएको छ।
पछिल्लो २४ घण्टामा कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली प्रदेशका धेरै स्थानहरूमा तथा सुदुरपश्चिम प्रदेशको थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा/हिमपात भएको छ।

March 17, 2026, Jyotishsanchar press

