काठमाडौं । प्रतिनिधि सभा सञ्चालन नियमावली मस्यौदा समितिका सभापति गणेश पराजुलीले प्रतिनिधि सभालाई व्यवस्थित, प्रभावकारी र जनउत्तरदायी बनाउने उद्देश्यसहित नियमावली मस्यौदामा काम भइरहेको बताए ।
सिंहदरबारमा बसेको प्रतिनिधि सभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठकमा महाअभियोग प्रश्ताव तथा संविधान संशोधनसम्बन्धी प्रावधानहरूमा पुनरावलोकन सम्बन्धी विषयमा छलफल समेत शुरु गरेको उहाँले बताउनुभयो ।
उहाँका अनुसार २०७९ सालको प्रतिनिधि सभा नियमावलीलाई आधार मानेर आवश्यक सुधार गर्दै नयाँ नियमावली तयार पारिँदैछ । विधायिकाले निर्माण गर्ने कानूनमार्फत कार्यपालिकालाई कसरी थप जवाफदेही बनाउने र संसदमार्फत पारित कानूनको प्रभावकारी कार्यान्वयन सुनिश्चित गर्ने विषयमा समितिको बैठक केन्द्रित रहेको जानकारी दिए ।
बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै नियमावली मस्यौदा समितिकी सदस्य तथा नेपाली कम्युनिष्ट पार्टीकी सांसद बलावती शर्माले विधेयक दर्ताअघि र पछि कति समय दिने ? सरकारी तथा गैरसरकारी विधेयकसम्बन्धीको व्यवस्थाका विषयमा छलफल भएको बताइन् ।
यस्तै,नियमावली मस्यौदा समिति सदस्य निश्कल राईले नियमावलीको परिच्छेद १५ अन्तर्गतको व्यवस्थापन कार्यविधिदेखि परिच्छेद १९ मा रहेको महाअभियोग प्रश्तावसम्बन्धी प्रावधान पुनरावलोकनको विषयमा छलफल भएको बताए ।
उनले नियमावलीमा रहेका केही उपनियमहरु सच्याउनुपर्ने भन्दै त्यसमा छलफल जारी रहेको बताए । यद्यपि यी विषयहरु निष्कर्ष भने निस्किनसकेको उनको भनाइ छ ।
उनले विधायिकाले निर्माण गर्ने कानूनमार्फत कार्यपालिकालाई कसरी थप जवाफदेही बनाउने र संसदमार्फत पारित कानूनको प्रभावकारी कार्यान्वयन सुनिश्चित गर्ने विषयमा समितिको बैठक केन्द्रित रहेको जानकारी दिए ।
समितिको अर्को बैठक सोमवार बिहान ८ बजेदेखि ११ बजेसम्म बस्ने तय गरिएको पनि उनको भनाइ छ ।

