काठमाडौं – बागमती नदी किनारस्थित थापाथलीमा रहेको सुकुमवासी बस्तीमा सार्वजनिक जग्गा तथा नदी कोरिडोर अतिक्रमण हटाउने सरकारी अभियानअन्तर्गत शनिबारदेखि डोजर प्रयोग गरी संरचना हटाउन सुरु गरिएको छ।
कारबाहीका क्रममा सम्भावित तनावलाई मध्यनजर गर्दै ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ। यसपटकको अभियान अघिल्ला वर्षहरूको तुलनामा शान्तिपूर्ण रूपमा अघि बढिरहेको देखिएको छ।
नेपाल प्रहरी र नगर प्रहरीका टोलीले सुकुमवासी परिवारका सामानहरू सुरक्षित स्थानमा सार्न सहयोग समेत गरिरहेका छन्।
यसअघि सोही क्षेत्रमा डोजर चलाउने प्रयास हुँदा स्थानीय र सुरक्षाकर्मीबीच झडप भएको थियो। तर यसपटक प्रशासनले सहयोगात्मक र व्यवस्थित तरिकाले बस्ती खाली गराउने रणनीति अपनाएको छ।

