काठमाडौँ । काठमाडौँ महानगरपालिका–९ गैरीगाउँस्थित सुकुम्बासी बस्ती हटाउने अभियान आजदेखि औपचारिक रूपमा सुरु गरिएको छ।
सार्वजनिक स्थल अतिक्रमण गरी निर्माण गरिएका संरचनाहरू हटाउने उद्देश्यले सरकारको निर्देशनमा उक्त अभियान सञ्चालन गरिएको हो।
बस्ती हटाउने कार्यका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा महानगर प्रहरीको संयुक्त टोली दिउँसोदेखि परिचालन गरिएको छ।
जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता तथा प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले सुरक्षाकर्मीहरूको निगरानीमा अस्थायी तथा स्थायी संरचना हटाउने कार्य भइरहेको जानकारी दिनुभएको छ।
उहाँका अनुसार बिहान थापाथली क्षेत्रको बस्ती खाली गराइसकेपछि हाल गैरीगाउँमा अभियान जारी रहेको छ। सम्भावित अवरोधलाई ध्यानमा राख्दै सुरक्षा व्यवस्था कडा पारिएको भए पनि हालसम्म कुनै झडप वा अवरोधको स्थिति देखिएको छैन।

