काठमाडौँ । कपिलवस्तुको हुलाकी सडकखण्डमा पार्किङ गरिएको ट्रकमा स्कार्पियो ठोक्किँदा दुई जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्।
बहादुरगञ्जबाट तौलिहवातर्फ जाँदै गरेको भारतबाट आएको यूपी ३२ सीए ८३४३ नम्बरको स्कार्पियो अनियन्त्रित भई कपिलवस्तु नगरपालिका–१२ पिप्ररहवामा सडक किनारामा रोकिराखिएको लु १ ख ९५४९ नम्बरको ट्रकमा ठोक्किएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ।
दुर्घटनामा महाराजगञ्ज नगरपालिका–११ का ५० वर्षीय राधेश्याम कुर्मी र शिवराज नगरपालिका–६ की ५५ वर्षीया चिन्नी कुर्मीको मृत्यु भएको छ। घाइते हुनेमा ६५ वर्षीय नन्दप्रसाद दुबे, २८ वर्षीय मोतिलाल कुर्मी र २० वर्षीय सुरेश कुर्मी रहेका छन्। उनीहरूको उपचार भइरहेको प्रहरीले जनाएको छ।

