आज थाइल्यान्ड उड्दै प्रधानमन्त्री ओली, यस्तो छ भ्रमण तालिका
Oli Sansad 45llcpkapc

प्रधानमन्त्री केपी शर्मा ओली आज (चैत १९ गते) थाइल्यान्डको औपचारिक भ्रमणका लागि त्यसतर्फ प्रस्थान गर्दै छन्।

प्रधानमन्त्रीको सचिवालयका अनुसार थाइल्यान्डकी प्रधानमन्त्री पेटोङ्टार्न सिनावात्राको निमन्त्रणमा प्रधानमन्त्री ओली आज दिउँसो बैंकक प्रस्थान गर्ने भएका हुन्।

यस क्रममा प्रधानमन्त्री ओलीले थाइल्यान्डको राजधानी बैंककमा आयोजना हुने बिमस्टेकको छैटौँ शिखर सम्मेलनमा पनि सहभागी हुनेछन्।

प्रधानमन्त्री ओली थाइल्यान्ड प्रस्थान गर्ने बेला त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विशिष्ट कक्षमा दिउँसो १२:३० बजे समाचार संकलनका लागि प्रधानमन्त्रीको सचिवालयले सञ्चारकर्मीलाई उपस्थितिका लागि अनुरोध गरेको छ।

प्रधानमन्त्री ओलीको भ्रमण टोली दिउँसो साढे १ बजे थाई एयरलाइन्सबाट बैंकक प्रस्थान गर्ने प्रधानमन्त्रीको सचिवालयले जानकारी दियो।

प्रधानमन्त्री ओलीका अनुसार थाइल्यान्डमा पहिलोपटक कूटनीतिक भ्रमण हुन लागेको हो। नेपालका तर्फबाट पहिलोपटक कार्यकारी प्रमुखको पहिलो पटक भ्रमण हुँदै छ। उनले भने, ‘यो भ्रमण आफैँमा महत्त्वपूर्ण हो भन्ने म ठान्दछु।’

थाइल्यान्डका राजासँग चैत २० गते औपचारिक भेटवार्ता हुने उनले जानकारी दिएका छन्। त्यसैगरी त्यहाँका प्रधानमन्त्रीसँग पनि कुरा हुने उनले सोमबारै संसद्‌मा बताएका छन्।

‘दुईवटा समझदारीमा हस्ताक्षर हुन्छ। दुईपक्षीय वार्तापछि संयुक्त प्रेस मिटमा सहभागी हुन्छु’, उनले भने।

थाइल्यान्ड भ्रमणका क्रममा प्रधानमन्त्रीले एसियन इन्स्टिच्युट अफ टेक्नोलोजी (एआईटी) मा सम्बोधन गर्नेछन्।

भ्रमणका दौरान प्रधानमन्त्री ओलीले नेपाल सरकारका तर्फबाट एआईटीलाई अनुदान सहायताबापत १ लाख अमेरिकी डलर दिने निर्णय मन्त्रिपरिषद्ले बैठकले गरेको सञ्चारमन्त्री पृथ्वी सुब्बा गुरुङले जानकारी दिएका छन्। मन्त्रिपरिषद्को बैठक सोमबार राति बसेको थियो।

यस्तो छ भ्रमण सूची:प्रधानमन्त्री ओलीबाट थाइल्याण्डको औपचारिक भ्रमण चैत २० गते सुरु हुनेछ। भ्रमणका क्रममा प्रधानमन्त्रीस्तरमा द्विपक्षीय वार्ता भई पर्यटन र संस्कृतिका सन्दर्भमा दुई र गैरसरकारी क्षेत्रबीच ६ वटा समझदारीपत्रमा हस्ताक्षर हुनेछ।

द्विपक्षीय वार्तापछि थाइल्यान्डकी प्रधानमन्त्री सिनावात्रासँग प्रधानमन्त्री ओलीले संयुक्त प्रेस ब्रिफिङमा भाग लिनेछन्। अनि थाइल्यान्डका नरेशसँग भेट गर्नेछन्।

चैत २१ गते बिहान प्रधानमन्त्री ओलीले त्यहाँका प्रतिष्ठित व्यवसायीहरूसँग भेटघाट र छलफल गर्नेछन् भने सोही दिन दिउँसो एसियन इन्स्टिच्युट अफ टेक्नोलोजीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्नेछन्।

त्यही साँझ प्रधानमन्त्री ओली बिमस्टेक शिखर सम्मेलनका नेताहरूका लागि आयोनजना गरिने रात्रिभोजमा सहभागी हुनेछन्।

चैत २२ गते प्रधानमन्त्रीले बिमेस्टक शिखर सम्मेलनमा सम्बोधन गर्नेछन्।

सोही दिन मेरिटाइम ट्रान्स्पोर्ट कोअपरेसन एग्रिमेन्टमा हुने हस्ताक्षर समारोहमा प्रधानन्त्री ओली सहभागी हुनेछन्। यसपछि सोही दिन साँझ बैंककस्थित नेपाली दूतावासमा हुने कार्यक्रममा सहभागी हुनेछन्।

प्रधानमन्त्री नेतृत्वको भ्रमण टोली चैत २३ गते स्वदेश फर्किनेछ।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको