
एजेन्सी । सिरियामा जातीय हिंसाका घटना पुनः बढेका छन । सोमबार तटीय र केन्द्रीय क्षेत्रहरूमा भएका छुट्टाछुट्टै घटनामा १२ नागरिकको ज्यान गएको छ ।
सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार मृतकमध्ये अधिकांश अलावाइट समुदायका हुन् । विशेष गरी इस्लामवादी नेतृत्वको बलहरूले करिब १४ वर्ष लामो गृहयुद्धपछि राष्ट्रपति बशर अल–असदको शासनलाई गत डिसेम्बरमा अन्त्य गरेपछि विभिन्न समुदायबीच तनाव कम भएको छैन ।
अलावाइट समुदायका धेरै नागरिक बशर अल–असदको शासनकालमा भएको हिंसाका कारण प्रतिशोधको डर महसुस गरिरहेका छन् । यो महिनाको प्रारम्भमा पनि सिरियामा सबैभन्दा गम्भीर जातीय हिंसा देखिएको थियो । जसमा विशेष रूपमा तटीय क्षेत्रहरूमा ठूलो सङ्ख्यामा नागरिकहरू मारिएका थिए ।
सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार मार्च ६ देखि शुरु भएको जातीय हिंसामा हालसम्म करिब एक हजार ७ सय भन्दा बढी नागरिकको ज्यान गएको छ । यसमा ठूलो सङ्ख्यामा अलावाइट समुदायका रहेका छन् ।
सिरियाली अधिकारीहरूले हिंसाका लागि बशर अल–असदका समर्थक सशस्त्र समूहहरूलाई जिम्मेवार ठहर्याएका छन् । नयाँ सरकारको सुरक्षा बलहरूलाई लक्षित गरी भएको आक्रमणपछि सैन्य बल परिचालन गरिएको समाचारमा उल्लेख छ ।

