
April 4, 2025, Jyotishsanchar press
रामेछाप–लुक्ला उडान ठप्प भएको छ । सोलुखुम्बुको लुक्लामा मौसम खराब भएका कारण रामेछाप–लुक्ला उडान ठप्प हुँदा रामेछाप विमानस्थलमा पाँच सय जनाभन्दा धेरै पर्यटक मन्थलीमा रोकिएका छन् ।
सगरमाथा घुम्न आएका विदेशी पर्यटक लुक्लाको मौसम खराब हुँदा रामेछापको सदरमुकाम मन्थलीमा रहेको विमानस्थलमा रोकिएका नागरिक उड्डयन प्राधिकरण रामेछापका एअर ट्राफिक कन्ट्राेलर (एटीसी) सञ्जय श्रेष्ठले जानकारी दिनुभयो ।
रामेछाप विमानस्थलबाट हिजो बिहान विभिन्न निजी हवाई कम्पनीहरूले पाँच वटा उडान भरेका थिए । उडान हुँदाहुँदै एकाएक लुक्लाको मौसम खराब भएको हो । लुक्लाको मौसम आज पनि राम्ररी खुलेको छैन । आज बिहान एक उडान भए पनि त्यसपछि कुनै उडान हुन नसकेको र केही पर्यटकहरू हेलिकप्टर चार्टर्ड गरी लुक्ला उडेका छन् ।
हिजो ९३ जना पर्यटक हवाई जहाजमार्फत, ४५ जना हेलिकोप्टरमार्फत लुक्ला र ४७ जना यात्रु फाप्लु विमानस्थल गएका थिए । आज पनि मौसम नखुलेपछि हेलिकोप्टर चार्टर्ड गरेर पर्यटकहरू लुक्ला र फाप्लु गइरहेका छन् भने केही पर्यटकहरू सडक मार्ग हुँदै गाडी रिर्जभ गरेर फाप्लुतर्फ लागेका नागरिक उड्डयन कार्यालयले जनाएको छ ।
काठमाण्डौको विमानस्थलमा चाप भएपछि नागरिक उड्डयन मन्त्रालयले सोलुतर्फ जाने जहाज रामेछापको विमानस्थलबाट उडान भर्ने गरी व्यस्थापन गरेको छ । सोलु जाने पर्यटकहरू काठमाण्डौमा रहेका विभिन्न ट्राभल एजेन्सीबाट गाडीमा बीपी राजमार्ग हुँदै रामेछाप विमानस्थल पुग्ने गरेका छन् । स्थलमार्ग हुँदै रामेछाप आएका पर्यटकहरू रामेछाप विमानस्थलबाट हवाई जहाजमार्फत सीधै लुक्ला जाने गरेका छन् ।
साेलु घुम्न आउने पर्यटकहरूलाई रामेछाप विमानस्थलबाट (वसन्त ऋतुकाे) चैतदेखि जेठ महिनासम्म र (शरद् ऋतुकाे) असोजदेखि मङ्सिर १५ गतेसम्म तीन वटा निजी वायु सेवा कम्पनी– तारा, समिट र सीता एअलाइन्सले सेवा दिँदै आएका छन् ।

