
April 15, 2025, Jyotishsanchar press
काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले विचौलियाहरूको पहुँच प्रधानमन्त्रीको शयन कक्षसम्म हुने गरेको बताएका छन् । आज काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले निजी क्षेत्र र विचौलिया फरक कुरा भएको बताउँदै अहिलेको अर्थतन्त्रमा समस्या विचौलियाका कारणले आएको जिकिर गरेका हुन ।
महामन्त्री थापाले पहिला पहिला राष्ट्र बैंकको गभर्नरको बारेमा छलफल हुँदा यो बन्ला की त्यो बन्ला भन्ने कौतुहलता हुने गरेको भए पनि अहिले विचौलियाको क्यान्डिडेट भनेर खुल्लम खुला बहस र छलफल हुने अवस्था देखिएको बताए । महामन्त्री थापाले फोहोरी राजनीतिको अङ्ग बन्नका लागि आफूहरु अहिले क्रियाशिल नभएको समेत बताए । नागरिकका अपेक्षा पूरा गर्नका लागि सरकारले गति लिन नसकेको उनको भनाइ छ ।
दुई ठूला राजनीतिक दलहरू मिलेर सरकार बनाएपछि संविधानमा बदलाव ल्याउनेदेखि विकास निर्माणका कामलाई तिब्रता दिने अपेक्षा गरे पनि त्यसअनुसार काम हुन नसकेको उनले बताए । महामन्त्री थापाले काम गर्ने अपेक्षा गरेपनि सरकार ट्याक्टरको गतिमा अघि बढिरहेको गुनासो गरे ।

