
April 22, 2025, Jyotishsanchar press
सडक आन्दोलनमा रहेका शिक्षकहरूले कक्षा १२ को परीक्षा बहिष्कार गर्ने निर्णय गरेका छन्। कक्षा १२ को परीक्षा वैशाख ११ गतेदेखि सुरु हुने तालिका छ। राष्ट्रिय परीक्षा बोर्डले भने कर्मचारी खटाएर भए पनि परीक्षा सञ्चालन गर्ने निर्णय गरिसकेको छ।
बोर्डको निर्णयपछि नेपाल शिक्षक महासंघले भने शिक्षक/प्रधानाध्यापकहरू भने परीक्षामा सामेल नहुने निर्णय गरेको हो।
महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले भने, ‘सरकारले परीक्षा सञ्चालन गरोस् तर, शिक्षक/प्रधानाध्यापक भने परीक्षामा सामेल हुँदैनन्।’
उनीहरूले आन्दोलनकै क्रममा सडकबाटै परीक्षामा सामेल नहुने निर्णय गरेका हुन्।
विभिन्न मागसहित शिक्षा विधेयक जारी गर्नुपर्ने मागसहित २१ दिनदेखि काठमाडौँको सडकमा आन्दोलनरत छन्।
सरकारले संसद्को बजेट अधिवेशनबाटै शिक्षा विधेयक जारी गर्ने बताए पनि शिक्षकहरूले आन्दोलनलाई जारी राखेका छन्।
यसैबीच शिक्षकहरूको मागलाई सम्बोधन गर्नका लागि कसरत गरिरहेकी भनिएकी शिक्षामन्त्री विद्या भट्टराईले पदबाट राजीनामा दिइसकेकी छन्। उनले सोमबार प्रधामन्त्री केपी शर्मा ओलीलाई राजीनामा बुझाएकी हुन्। उनले मन्त्री निवाससमेत छोडिसकेकी छन्।

