कक्षा १२ को परीक्षा गर्न तीनवटै तहका सरकारलाई पत्राचार
Rastriyaexamboard 19nms47yli M1z6pixy8d

April 22, 2025, Jyotishsanchar press

राष्ट्रिय परीक्षा बोर्डले तीनवटै तहको संयन्त्र प्रयोग गरेर कक्षा १२ को परीक्षा गर्ने भएको छ।

परीक्षा वैशाख ११ गतेदेखि हुने गरी यसअघि नै तालिका सार्वजनिक गरिसकिएको छ। परीक्षामा कूल ५ लाख ११ हजार विद्यार्थीले भाग लिनेछन्।

२१ दिनदेखि सरकारी र सामुदायिक शिक्षक काठमाडौँमा आन्दोलनरत भएपछि बोर्डले तीनै तहका संयन्त्र लगाएर परीक्षा लिने भएको हो।

परीक्षा नियन्त्रक कृष्णराज शर्माका अनुसार रातभरि पनि काम गरेर परीक्षाको सबै तयारी गरिन्छ।

स्थानीय, प्रदेश र केन्द्र सरकारका सबै संयन्त्र परिचालन हुने उनले बताए।

मंगलबार बिहान बसेको बोर्ड बैठकले परीक्षा नरोक्ने निर्णय गरेको थियो। त्यसलगत्तै द्रुत गतिमा काम थालेको शर्माको भनाइ छ।

‘स्थानीय तहमा शिक्षा एकाइ छ, जिल्लामा परीक्षा समन्वय समिति छ, प्रदेश परीक्षा व्यवस्थापन कार्यालय र प्रदेश परीक्षा सञ्चालन तथा व्यवस्थापन कार्यालय छ, उहाँहरूको संयोजकत्व र समन्वयमा परीक्षा सञ्चालन हुन्छ’ शर्माले भने, ‘२ दिनमा भ्याउन राति पनि खटाउन सक्नुहुन्छ।’

‘स्थानीय पालिकालाई संघीय मन्त्रालयमार्फत् निर्देशन पठाउने काम भइरहेको छ। परीक्षा समन्वय समिति र सीडीओहरूलाई गृह मन्त्रालयले निर्देशन पठाउनुहुन्छ। अनि हाम्रा शाखाहरूबाट जाने कुरा हामी गर्दै छौँ,’ नियन्त्रक शर्माले थपे।

परीक्षाका लागि आवश्यक जनशक्ति व्यवस्थापनको काम बुधबारसम्म टुंगो लगाउने उनी बताउँछन्।

‘केन्द्राध्यक्षको नाम भोलि टुंगियो भने भोलि बेलुका नै जुम बैठक बसेर, प्रविधिको प्रयोग गरेर उहाँहरूको ओरिन्टेसन गर्छौँ,’ उनले थपे, ‘केन्द्राध्यक्षको सबै नाम लिस्ट आइसकेपछि जुमबाट मिटिङ गर्छाैँ, परीक्षा हुन्छ।’

आन्दोलनरत शिक्षकसमेत सहभागी हुन सक्ने अपेक्षा गर्दा निर्णय ढिलाइ हुन पुगेको उनले बताए।

तर, शिक्षकको आन्दोलन नरोकिएपछि बोर्ड तातेको हो।

‘हामीले विद्यार्थीको भविष्यलाई हेरेर यो निर्णय गरेका हौँ, विश्वविद्यालय जाने अन्तिम ढोका भएकोले यसमा हामी लचक हुन सकेनौँ र द्रुत गर्ने भएका हौँ,’ नियन्त्रक शर्माले भने, ‘छात्रवृत्तिमा विदेश पढ्न जाने विद्यार्थीको पनि भविष्य हेर्‍यौँ। विदेशका विश्वविद्यालयले छात्रवृत्ति दिने कुरा हामीले भनेर त रोक्दैन। त्यसैले विद्यार्थीको हीतलाई ध्यानमा राखेर परीक्षा गर्ने निर्णय लिएका हौँ।’

शिक्षकले आन्दोलन स्थगित गर्ने आशामा बस्दा निर्णय लिन ढिलाइ भएको शर्माले स्वीकार गरे।

यद्यपि, प्रभावकारी रूपमा परीक्षा सञ्चालन गर्न सबै तहबाट सहयोग पाउने उनले विश्वास लिएको बताए।

‘उहाँहरू (शिक्षक) जानुहोला, आन्दोलन रोक्नुहुन्छ होला, सहमति होला भन्ने हामीलाई लाग्यो। हामीले हेर्‍यौँ नि त। परीक्षा त इतिहासमै यसरी रोकिएको छैन,’ उनले भने, ‘ राजनीतिक पार्टीले पनि आन्दोलन गरे भने यस्तो बेलामा फिर्ता लिनुहुन्थ्यो। मेरो ३० वर्षे जागिरको इतिहासमा आन्दोलनको कारण विद्यार्थीहरूको भविश्य डिस्टर्व भएको थाहै छैन। इतिहासै छैन। त्यसमाथि शिक्षकहरूकै विद्यार्थी हो। विद्यार्थीको भविश्यलाई पक्कै नजरअन्दाज गर्नुहुन्न भन्ने हामीलाई लाग्यो।’

‘हामीले वे एण्ड सी ग¥यौ, तर काम लागेन।’ अनि तात्यौ, अब दुईदिनमा परीक्षा गराउँछौँ,’ उनले ठोकुवा गरे।

परीक्षाका लागि तीनवटै सरकारले आफ्ना स्रोत र साधन प्रयोग गर्न पाउने सुविधा बोर्डले दिएको छ।

‘स्थानीय तह, प्रदेशले परीक्षाका लागि आवश्यक योग्यता पुगेको स्रोत साधन प्रयोग गर्न पाउँछ, त्यसमा निजामति कर्मचारी पनि होलान, अन्य जो कोही राख्न सक्नुहुन्छ,’ शर्माले भने, ‘हामीले के अपिल पनि गरेका छौँ भने, केन्द्राध्यक्ष ज्यूहरू जो, शिक्षकहरू पनि हुनुहुन्छ। उहाँहरूले एकपटक सोचेर यो परीक्षा दिनको लागि आन्दोलन केही समय स्थगित गर्नुहोला भन्ने अपेक्षा गरेका छौँ।’

शिक्षक आन्दोलन भन्दा धेरै अगाडि बोर्डले कक्षा १२ को परीक्षा कार्यतालिका सार्वजनिक गरेको थियो।

शिक्षा विधेयक पारित गर्नुपर्ने माग राख्दै चैत २० गतेदेखि देशभरका ४ लाख शिक्षक आन्दोलनमा उत्रिएका छन्।

‘विद्यार्थीलाई एकवर्षसम्म पढाउनुभएको उहाँहरूले (शिक्षक) हो। मूल्यांकन गर्ने जिम्मेवारी पनि उहाँहरूकै हो। हामीले त उहाँहरूको आन्दोलन भन्दा पहिलै वार्षिक क्यालेन्डर दिएका हौँ । त्यसकारण उहाँहरूले यो विषयमा मनन गर्नुहोला भन्ने हामीले अपेक्षा गरेका छौँ,’ परीक्षा नियन्त्रक शर्मा भन्छन्, ‘फेरि परीक्षा सकेपछि उहाँहरूले मागहरू राख्न सक्नुहुन्छ। यो बारेमा हामीले अपिल गरेका छौँ।
सायद उहाँहरूले हाम्रो यो अपिललाई विद्यार्थीको भविश्यलाई उहाँहरूले नजरअन्दाज गर्नुहुनेछैन भन्ने आस गरेका छौँ।’

परीक्षामा प्रहरी परिचालन गर्ने भनेर हल्ला चलाइएकोमा उनले असन्तुष्टि जनाए।

‘बाहिरी सुरक्षाका लागि प्रहरी जुनसुकै परीक्षामा पनि परिचालन गरिन्छ। प्रहरीले बाहिरी सुरक्षा दिने हो,’ उनी भन्छन्।

बोर्डले परीक्षालाई पहिलो प्राथमिकता दिएको उनको भनाइ छ।

‘पहिलो कामै नसिध्यी दोस्रो कसरी गर्ने? अहिले विद्यार्थीहरू परीक्षा हुन कि नहुने मनोटोनसमा छन्। उनीहरू भोलि डिप्रेसनमा जान सक्छन् नि। जुन गतिका साथ उनीहरूले पढेका छन्, परीक्षा रोक्दियौँ भने विद्यार्थी तितरबितर हुन्छन्। उनीहरूलाई सम्हाल्न पनि कम्तीमा एक महिना लाग्छ। जाँच सम्पन्न भइसकेपछिको कुरा हो त्यो,’ उनी भन्छन्।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको