
केही दिनयता अभिनेत्री सुरक्षा पन्त सामाजिक सञ्जाल प्रयोगकर्ताको निसानामा छिन्। उनको अभिव्यक्तिलाई लिएर विभिन्न टिकाटिप्पणी भइरहेको छ। केहीले साथ दिए पनि आफ्नो विचार राखेकै कारण धेरैबाट उनलाई गालीको वर्षा भइरहेको छ। जसमा आलोचनात्मक चेतभन्दा पनि घृणा, उत्तेजना र अश्लील अभिव्यक्ति बढी देखिन्छ। जुन पढिसाध्य छैनन्।
केही दिनअघि अभिनेत्री पन्त फिल्म ‘खेल’ को प्रमोसनको लागि ‘द प्रकाश सुवेदी शो’ पुगेकी थिइन्। जहाँ प्रस्तोता प्रकाश सुवेदीले पूर्वयुवराज पारस शाहका छोरा हृदयेन्द्रको तस्बिर देखाउँदै सुरक्षालाई प्रश्न तेर्स्याए, ‘भविष्यमा उहाँलाई कुन रूपमा हेर्न चाहनुहुन्छ?’
सुरक्षा प्राय: मिडियासामु आफ्नो धारणाहरू खुलेरै राख्छिन्। तार्किक मतकै कारण उनलाई बौद्धिक अभिनेत्री समेत भन्ने गरिन्छ। यस प्रश्नमा पनि सुरक्षाले खुलेरै बोलिन्।
हृदयेन्द्रको लुक्स राम्रो भएको भन्दै उनले फिल्म उद्योगमा आउन सुझाइन्। उनले भनेकी थिइन्, ‘लुक्स राम्रो छ। अभिनय पनि सक्नुहुन्छ होला। कुनै आर्टतिर लाग्नुभयो भने दामी हुन्छ। सिनेमा क्षेत्रमा स्वागत छ उहाँलाई।’
त्यसपछि सुवेदीले थपे, ‘कहीँ कतै उहाँलाई राजा बनाए हुन्छ भन्नेसम्मको अभिव्यक्ति मैलै कतै पढेको छु।’
सुरक्षाले निर्धक्क भनिन्, ‘राजा बनाउने भन्ने कुरा हामीले स्वीकारेकै छैनौँ। त्यो त भन्न सकिन्न।’
प्रश्नकर्ताले पूर्वराजा ज्ञानेन्द्र शाहको तस्बिर देखाउँदा पनि सुरक्षाले सामान्य नागरिक, सचेत जनता भएको प्रतिक्रिया दिइन्। त्यस्तै, ‘राजा कि गणतन्त्र’ भन्ने प्रश्नमा सुरक्षा गणतन्त्रको पक्षमा बोलिन्। गणतन्त्रमा प्रणालीलाई राम्रो बनाउनुपर्ने उनको मत थियो।
त्यही अभिव्यक्तिलाई लिएर अहिले राजावादीहरूले सामाजिक सञ्जालमा सुरक्षामाथि आक्रोश पोखिरहेका छन्। उनीलक्षित असभ्य स्ट्याटसहित गालीगलौज गरिरहेका छन्। साथै उनको फिल्म बहिष्कारको अभियान समेत चलाएका छन्।
सामाजिक सञ्जालभरि सुरक्षाप्रति घृणा र आक्रमणको आगो दन्किएको छ। यतिसम्म कि सुरक्षामाथि भइरहेको आक्रमणबारे बोल्दा अभिनेत्री ऋचा शर्मालाई पनि गालीगलौज गरिँदैछ। उनलाई पनि सोसल मिडियामा असभ्य म्यासेज र कमेन्ट आइरहेका छन्। ऋचाले आफूलाई जथाभावी म्यासेज गर्नेको स्क्रिनसट सार्वजनिक गरेर कानुनी कारबाहीको प्रक्रियामा पुगेकी छिन्।
महिला कलाकारमाथिको यो किसिमको असभ्य आक्रमण नयाँ भने होइन।
केही वर्षअघि अभिनेत्री दीपाश्री निरौलाले पनि यस्तै आक्रमण झेलेकी थिइन्। उनले राजेश हमाल ‘महानायक’ होइनन् भनेर तार्किक अभिव्यक्ति दिँदा सामाजिक सञ्जालमा चर्का गाली खानुपरेको थियो। जसका कारण उनी टेलिभिजन कार्यक्रमबाट समेत बाहिरिनुपरेको थियो। मानसिक रूपमा आघात परेपछि उनले अन्त्यमा रुँदै माफी नै माग्नुपर्यो। त्यसपछि निरौला अन्तर्वार्ता दिन समेत डराउँछिन्।
पछिल्लो समय नेपालमा बहिष्कार गर्ने ट्रेन्ड नै चलेको बताउँछिन् निरौला। सुरक्षामाथि भएको आक्रमणको विषयमा सोध्दा उनले भनिन्, ‘अहिले त दिमागमा नै बहिष्कार आइसक्यो। कसैलाई महान् हुन नदिने परम्पराको थालनी भइसक्यो। अब त अन्तर्वार्ता भन्नेबित्तिकै तर्किने बेला आएको छ। वाक् स्वतन्त्रता छ, बोल्न पाइँदैन। म त केही बुझ्न सक्दिनँ। प्रश्न सोधेपछि भन्नै पर्यो। अनि टुक्राटुक्री हालेर भाइरल गरिदिन्छन्। त्यो भन्दा त नबोल्नु नै बेस। नत्र त बहिष्कारमै परिन्छ।’
मौन छ चलचित्रकर्मीकै संस्था
एक अभिनेत्रीमाथि व्यक्तिगत आक्रमण हुँदा पनि धेरै फिल्मकर्मीहरू भने मौन छन्। केही सुरक्षाको पक्षमा खुले पनि धेरैले आफ्नो करिअर डुब्ने डरले यस आक्रमणप्रति आफ्नो मत राखेका छैनन्। कलाकारहरूको हितका लागि खुलेको चलचित्र कलाकार संघले समेत एक विज्ञप्ति समेत निकाल्न सकेको छैन।
यद्यपि, संघका अध्यक्ष मोहन निरौलाले पन्तले बोलेको अभिव्यक्ति स्वाभाविक रहेको बताए।
उनले भने, ‘उहाँले बोलेको अभिव्यक्ति स्वाभाविक हो। त्यसलाई अन्यथा लिनुहुँदैन। जुन किसिमको कमेन्टहरू आइरहेको छ। त्यो निन्दनीय हो। उहाँको अभिव्यक्ति अतिरञ्जित पनि छैन। उहाँले स्वाभाविक रूपमा नागरिकले भन्नुपर्ने कुरा भन्नुभएको हो। तर, आफ्नो क्षेत्रभन्दा बाहिरको विषयमा बोल्दा भने कलाकारले पनि स्वयं सचेत हुनुपर्छ।’
यसबारेमा संघमा छलफल चलिरहेको समेत उनले बताए। साथै अन्तर्वार्ता दिँदा ध्यान दिनुपर्ने विषयमा संघले गोष्ठी र अन्तर्क्रिया समेत चलाएको उनले दाबी गरे।
‘हामीबीच यस विषयमा छलफल भइरहेको छ। यस विषयमा हामी पहिल्यैदेखि बोल्दै आइरहेका छौँ। यसको लागि अन्तर्क्रिया र गोष्ठी चलाउँदै आएका छौँ। तर, जसका लागि हामी बोलिरहेका हुन्छौं, उहाँहरू नै सम्पर्कमा आउनुहुन्न। उहाँहरू पनि समन्वयमा आइदिनुभयो भने हामीलाई सजिलो हुन्छ। यसअघि पनि यस्ता विषयमा हामी धेरैपटक कलाकारको विषयमा बोलेका थियौं। तर, उहाँहरू पनि सम्पर्कमा आउनुपर्यो,’ उनले भने।
त्यस्तै, चलचित्र कलाकार संघ मात्रै नभई अन्य चलचित्रसम्बन्धी संस्थाहरू चलचित्र निर्माता संघ र चलचित्र निर्देशक समाज पनि मौन छन्।
अभिव्यक्ति स्वतन्त्रता र महिला अधिकारमाथिकै हस्तक्षेप
नेपाली जनतासँग अभिव्यक्ति स्वतन्त्रताको हक छ। संविधानले पनि धारा १७ मा विचार तथा अभिव्यक्ति स्वतन्त्रताको अधिकारलाई मौलिक हकको रूपमा ग्यारेन्टी गरेको छ। तर, अभिव्यक्ति दिएकै कारण यसरी गालिगलौज पाउनु अभिव्यक्ति स्वतन्त्रतामाथिकै हनन भएको सुनाउँछिन् अधिवक्ता शशि बस्नेत।
‘हाम्रो समाजमा महिलाले कुनै पनि विषयमा विचार राख्दा अर्कै तरिकाबाट हेरिन्छ। त्यसमाथि उहाँ कलाक्षेत्रमा भएको कारण केन्द्रमा पर्नुभएको हो। कलाक्षेत्रमा पनि बौद्धिक र स्पष्ट बोल्ने कारण पर्नुभयो। हामीले लोकतन्त्र, गणतन्त्र ल्याएर आयौँ। यसको सुन्दर पक्ष भनेकै चित्त नबुझेको कुरा बोल्न पाइन्छ,’ उनले भनिन्, ‘अभिव्यक्ति स्वतन्त्रता आएसँगै चित्त बुझेन भने सभ्य र संयमित तरिकाले खण्डन पनि गर्न सकिन्छ। तर, उहाँमाथि भएको आक्रमण अभिव्यक्ति स्वतन्त्रताको हनन पनि हो। एउटा महिला भएका कारण सम्मानपूर्वक बाँच्न पाउने अधिकार हुन्छ। त्यसको पनि हनन हुन्छ।’
उनी यस किसिमको आक्रमणलाई पितृसत्तात्मक समाजको उपज मान्छिन्। यसले समाज कुन स्तरमा छ भन्ने समेत देखाउने उनको भनाइ छ।
‘सुरक्षाजीले राखेका कुराहरू पनि कुनै राजनीतिक पार्टीमा आस्था राख्ने व्यक्तिहरूलाई मन नपरेको हुनसक्छ। त्यो विषयमा उहाँहरूले पनि तार्किक हिसाबले कुराहरू राख्न पाउनुहुन्थ्यो। तर, त्यो नगरी उहाँले चलचित्रको नायिका वा महिला भएको हिसाबले त्यस्तो किसिमको भाषा प्रयोग गरिएको छ। त्यो भनेको परम्परागत रूपमा महिलालाई शोषणका हिसाबले हेरिएको दृष्टिकोण छ नि, त्यसकै उपज हो। उहाँले एउटा कवितामार्फत लेख्नुपर्ने अवस्था छ भने त्यसले हाम्रो समाज कति तल्लो स्तरमा छ भन्ने उदाहरण पनि हो,’ उनले भनिन्।
यसरी सामाजिक सञ्जालमार्फत गालीगलौज गर्नेहरू आपराधिक मानसिकताको भएको समेत उनले बताइन्। जसले अवसर पाउँदा ठूलै घटना समेत घटाउन सक्ने भन्दै चिन्ता व्यक्त गरिन्।
महिलाको चरित्रलाई जोडेर गाली गर्ने विश्वभरिकै समस्या
अधिवक्ता बस्नेतका अनुसार विश्वव्यापी ट्रेन्ड हेर्न हो भने पुरुषको तुलनामा महिलालाई साइबर बुलिङ बढी हुन्छ। यतिसम्म कि पुरुषलाई गाली गर्दा समेत आमा वा दिदीबहिनीको नामबाट गरिन्छ। उनीहरूको चरित्रभन्दा पनि महिलासँगको शारीरिक सम्बन्धलाई जोडेर गरिन्छ।
उनले भनिन्, ‘नेपालमा पनि त्यही छ। महिलाका हकमा भने चरित्र नै हेरिन्छ। त्यो संसारभरि नै त्यही छ। किनभने हामी पितृसत्तात्मक समाजबाट आयौँ नि त। महिलालाई हेर्ने दृष्टिकोण त्यही किसिमको भएर महिलाको जहिले पनि चरित्र र यौन जीवन हेरिन्छ। विश्वभरिका राजनीतिक महिला र कलाकारलाई हेर्नुभयो भने उनीहरूलाई तल गिराउनुपर्यो भने शारीरिक सम्पर्क र सम्बन्धका हिसाबले गिराइन्छ। र चरित्रहत्या गरिन्छ। संसारभरि यसरी नै चलेको छ।’
साइबर कानुनका जानकार बाबुराम अर्याल पनि बस्नेतको तर्कसँग सहमत छन्। उनले महिलालाई समाजमा दोस्रो दर्जाको रूपमा हेर्ने ठूलो जमात रहेको सुनाए।
‘हामीले साइबर क्राइमको सेग्मेन्ट हेर्ने हो भने बढी पीडित महिला छन्। त्यसमा पनि युवतीहरू। कुनै विषयमा पुरुषभन्दा बढी महिलालाई बढी हेपेर बोल्नेहरूको जमात ठूलो छ। यसमा पनि कम पढेको र ज्यादा निराशा भएका व्यक्तिहरू बढी छन्। जसकारण यो मुद्दालाई मनोवैज्ञानिक कोणबाट हेर्न जरुरी छ,’ अर्यालले भने।
सुरक्षा प्रतिनिधि पात्र मात्र भएको बताउँदै सामाजिक सञ्जालमा बुलिङ गर्नु आम मुद्दा रहेको उनले प्रस्ट्याए। र, यसलाई कानुनी पाटोभन्दा पनि समाज र मानवशास्त्रीय दृष्टिकोणले हेर्नुपर्ने उनको तर्क छ।
‘बुलिङ किन हुन्छ, कसले गरिरहेको छ। त्यसले पार्ने प्रभावको र उपचार के हो भन्ने कुरा महत्त्वपूर्ण छ। सरसर्ती हेर्दा यो सुरक्षा पन्तको मुद्दा भएन। पछिल्लो समयमा हाम्रो जुन समाज छ, यो पूर्णतः नकारात्मक दृष्टिकोण बनाएर बसेको छ। त्यो दृष्टिकोण किन बनेको छ भन्ने कुराबाट हेर्नुपर्ने हुन्छ। यो कानुनीभन्दा पनि सामाजिक र मानवशास्त्रीय कोणबाट हेर्न जरुरी हुन्छ।’
के छ कानुनी कारबाहीको व्यवस्था?
अधिवक्ता बस्नेतका अनुसार सुरक्षाले चाहेको खण्डमा कानुनी उपचारमा जान सक्छिन्। जसको लागि उनले दुइटा कानुनमा टेकेर उजुरी हाल्न सक्छिन्। पहिलो, गाली बेइज्जती सम्बन्धी कसुर।
यसभित्र कसैले कसैलाई गाली र बेइज्जती गर्न नहुने कुरा उल्लेख छ। जसअनुसार विद्युतीय वा अन्य आमसञ्चारका माध्यमबाट बेइज्जती गरे वा गराएमा एक वर्षसम्म कैद र दस हजार जरिवाना हुनसक्छ।
त्यस्तै, अर्को विद्युतीय कारोबार ऐन। यस्तो कुराहरू विद्युतीय कारोबार ऐनको दफा ४७ अनुसार महिलामाथिको दुर्व्यवहार कानुनअन्तर्गत जान सकिने अधिवक्ता अर्यालले बताए। यसमा पीडितले मुद्दा हालेको खण्डमा पाँच वर्षसम्मको कैद सजाय, एक लाखसम्मको जरिवाना र क्षतिपूर्ति हुनसक्छ। जसको लागि पीडितले प्रहरीमा जाहेरी दिनुपर्छ।
यद्यपि, कतिजनालाई कानुनी कारबाहीमा ल्याउने भन्ने कुरा संवदनशील रहेको अर्याल बताउँछन्।
भन्छन्, ‘हुन त यसमा कति जनालाई ल्याउने भन्ने संवेदनशील हुन्छ। त्यो भन्दैमा कानुनी दायरामा नल्याउने भन्ने हुँदैन। अब जसले उचालेर थप मान्छेहरूलाई आक्रामक तरिकाले भड्काइरहेको छ, उनीहरूलाई चाहिँ उजुरी दिनुपर्छ।’

