
April 29, 2025, Jyotishsanchar press
हङकङको एक अस्पतालमा उपचारका लागि पुगेका व्यक्तिले सेवामा खटिएकी प्रशिक्षार्थी नर्सको तस्बिर र भिडिओ खिची गलत आशयले प्रचार गरेपछि पक्राउ परेका छन्।
पक्राउ पर्ने व्यक्ति ५१ वर्षीय पुरुष हुन्। साउथ चाइना मर्निङ पोस्टले स्रोतलाई उद्धृत गर्दै जनाएअनुसार उनी स्वतन्त्र चित्रकारका साथै पूर्व रेडियो डीजे हुन्।
मृगौलासम्बन्धी रोगका पीडित उनी १ अप्रिलमा चक्कर लागेपछि कारितास मेडिकल सेन्टरमा उपचारका लागि पुगेका थिए।
सोही क्रममा उनको सेवामा खटिएकी प्रशिक्षार्थी नर्सको तस्बिर र भिडिओ सामाजिक सञ्जालमा पोस्ट गरेपछि उनलाई पक्राउ गरिएको हो।
उनी हिजो पक्राउ परेका हुन्। पीडित नर्सले सञ्जालमा उनका पोस्ट र फुटेज भेटेपछि प्रहरीमा रिपोर्ट गरेकी थिइन्।
हालै मेटाइएका ती फेसबुक पोस्टहरूको स्क्रिनसटअनुसार ती व्यक्तिले नर्सले कसरी आफ्नो शरीर पुछिन् र आफूलाई पिसाब फेर्न मद्दत गरिन् जसबाट आफूले उक्त प्रक्रियाको आनन्द लिएँ जस्ता भद्दा र अश्लील टिप्पणीसहित भिडिओ पोस्ट गरेका थिए।
पक्राउपछि ती व्यक्तिले आफ्नो कल्पनाको लागि भिडिओ रेकर्ड गरेको स्वीकार गरेका छन्।
नर्सको अनुमतिविना तस्बिर तथा भिडिओ रेकर्ड गरेका उनले शनिबार फेसबुकमा कामुक स्टाटससहित सामग्री पोस्ट गरेका थिए।

