भारतको हवाई क्षेत्र पाकिस्तानी विमानका लागि बन्द
Pia Xomkjuxaio

May 1, 2025, Jyotishsanchar press

पहलगाम आक्रमणपछि पाकिस्तानसँग बढ्दो तनावका बिच भारतले बुधबार पाकिस्तानी विमानहरूको लागि आफ्नो हवाई क्षेत्र बन्द गर्ने निर्णय गरेको छ । समाचार एजेन्सी पीटीआईका अनुसार अधिकारीहरूले यो प्रतिबन्ध मे १ देखि मे २३ सम्म लागू हुने बताएका हुन् ।

यससम्बन्धमा, भारतीय विमानस्थल प्राधिकरण (एएआई) ले बुधबार साँझ एक नोटमा जारी गरेको छ । हवाई क्षेत्रमा उडानहरूको सम्बन्धमा नोटम अर्थात् ‘नोटिस टू एयरमेन’ जारी गरिन्छ ।

यो प्रतिबन्धको अर्थ भारतीय हवाई क्षेत्र पाकिस्तानमा दर्ता भएका पाकिस्तानी एयरलाइन्स र अपरेटरहरूद्वारा सञ्चालित, स्वामित्वमा रहेका वा भाडामा लिइएका विमानहरूका लागि उपलब्ध हुनेछैन ।

एक वरिष्ठ सरकारी अधिकारीले पीटीआईलाई बताएअनुसार यो प्रतिबन्ध पाकिस्तानको सैन्य विमानमा पनि लागू हुनेछ ।

भारत र पाकिस्तानबिच कुनै सिधा उडान भने छैन । तर, पाकिस्तानी एयरलाइन्सहरूले सिंगापुर, मलेसिया र अन्य पूर्वी एसियाली देशहरूमा उडानहरूका लागि भारतीय हवाई क्षेत्र प्रयोग गर्छन् ।

अप्रिल २२ मा पहलगाम आक्रमण भएको एक दिन पछि, अप्रिल २३ मा भारतले पाकिस्तानविरुद्ध धेरै कदम चालेको थियो । यसमा सिन्धु जल सन्धि निलम्बन गर्ने, अटारीमा रहेको एक मात्र स्थल सीमा नाका बन्द गर्ने र कूटनीतिक सम्बन्धलाई घटाउने समावेश थियो ।

यसको प्रतिक्रियामा पाकिस्तानले भारतीय विमानहरूको लागि आफ्नो हवाई क्षेत्र बन्द गरेको थियो भने तेस्रो देशहरूमार्फत भारतसँगको सबै व्यापार निलम्बन गरेको थियो ।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको