
May 4, 2025, Jyotishsanchar press
बागमती खोलाको डाइभर्सन बगायो, लोकपथ सडकखण्ड अवरुद्ध
अविरल वर्षाका कारण मकवानपुर र ललितपुरको सिमानामा पर्ने कान्ती लोकपथ सडकखण्ड अवरुद्ध भएको छ। आइतबार (आज) बिहानपख परेको वर्षाको कारण मकवानपुरको भीमफेदी गाउँपालिका–८ र ललितपुरको बागमती गाउँपालिका–२ को बीचमा पर्ने बागमती खोलामा सवारी आवागमनका लागि निर्माण गरिएको अस्थायी डाइभर्सन मार्ग आज बिहान ६:१५ बजे आएको बाढीले बगाएको मकवानपुर प्रहरीले जनाएको छ।
डाइभर्सन बगाएपछि उक्त खण्डमा सवारीसाधनको आवत–जावत पूर्ण रूपमा रोकिएको मकवानपुर प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक डीएसपी श्याम अर्यालले जानकारी दिए। उनका अनुसार घटनास्थलमा प्रहरीको टोली परिचालन गरिएको छ र सडक खुलाउने प्रयास जारी रहेको मकवानपुर प्रहरी कार्यालयले जनाएको छ। यद्यपि, डाइभर्सन नै बगाएपछि सडक सुचारु गर्न भने समस्या देखिने भएको छ।
सडक अवरुद्ध भएपछि हेटौंडाबाट काठमाडौं आउजाउ गर्ने यात्रु तथा सवारी चालकहरूलाई वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध गरिएको छ। निरन्तर वर्षा भइरहेको हुँदा थप जोखिम हुन सक्ने भन्दै सावधानी अपनाउन समेत मकवानपुर प्रहरीले आग्रह गरेको छ।

