
May 5, 2025, Jyotishsanchar press
इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले इजरायली विमानस्थलनजिकै क्षेप्यास्त्र आक्रमण गरेको हुथी विद्रोहीसँग बदला लिने चेतावनी दिएका छन्।
सामाजिक सञ्जालमा भिडिओ पोस्ट गरी उनले हुथी विद्रोहीविरुद्ध आक्रमण गर्ने बताएका हुन्।
नेतन्याहुले भनेका छन्, ‘हामीले विगतमा आक्रमण गरेकै हौँ। हामी भविष्यमा पनि आक्रमण गर्न सक्छौँ।’
यमनबाट हुथी विद्रोहीहरूले प्रहार गरेको क्षेप्यास्त्र आइतबार बिहान इजरायलको बेन गुरियन विमानस्थलको मुख्य टर्मिनलनजिकै खसेको थियो।
इजरायली मिडियाका अनुसार विस्फोटमा परी चार जना घाइते भएका छन्। साथै भाग्ने क्रममा अन्य दुई जना घाइते भएका छन्।
हुथी विद्रोहीका सैन्य प्रवक्ता याह्या सारियाले टेलिभिजनमा प्रसारित वक्तव्यमा भनेका छन्, ‘इजरायली विमानस्थलहरू अब हवाई यात्राका लागि सुरक्षित छैनन्।’
घटनापछि केही समय बन्द भएको विमानस्थल खुलिसकेको छ। तर क्षेप्यास्त्र आक्रमणका कारण धेरै उडानहरू रद्द गरिएका छन्।।

