गाजामा भएको इजरायली आक्रमणमा २९ जनाको मृत्यु
Israel Palestine

May 6, 2025, Jyotishsanchar press

गाजा क्षेत्रमा सोमबार इजरायलद्वारा गरिएका हवाई आक्रमणहरूमा कम्तीमा २९ जना प्यालेस्टिनी नागरिकले ज्यान गुमाएका छन् भने कैयौँ घाइते भएका छन् । 

नागरिक सुरक्षा प्रवक्ता महमुद बसालका अनुसार, गाजा सहरको उत्तरमा रहेको अल–करामा क्षेत्रमा आवासीय भवनहरूमा गरिएको बम आक्रमणपछि १५ वटा शव फेला परेका छन् र १० जना भन्दा बढी मानिसलाई जीवितै उद्दार गरिएको छ । सोही क्षेत्रमा बम प्रहारबाट थप पाँचजनाको मृत्यु भएको छ भने १० जनाभन्दा बढी घाइते भएका छन् ।

गाजाको उत्तर भाग बेइत लाहियामा गरिएको आक्रमणमा सातजनाको मृत्यु भएको छ भने दक्षिणी गाजाको खान युनिसको पश्चिम भागमा दुई जनाले ज्यान गुमाएका छन् ।

प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयका अनुसार, इजरायलले चालु वर्षको मार्च १८ गतेदेखि फेरि आक्रमण सुरु गरेयता हालसम्म दुई हजार ४५९ जनाको ज्यान गएको छ भने छ हजार ५६९ जना घाइते भएका छन् । गत वर्षको मार्चदेखि हालसम्म मृत्यु हुनेको कुल सङ्ख्या ५२ हजार ५६७ पुगेको छ ।

इजरायली सेनाले भने आइतवार खान युनिस क्षेत्रमा हमासद्वारा इजरायलतर्फ प्रक्षेपणको तयारीमा राखिएका रकेटहरू ध्वस्त पारिएको दाबी गरेको छ ।

यता, हमासको सशस्त्र समूह अल–कस्साम ब्रिगेड्सले इजरायली इन्जिनियरिङ समूहमाथि खान युनिसको पूर्वी सिमानामा रहेको अल–फराहिन क्षेत्रमा आक्रमण गरिएको जनाएको छ । उनीहरूले पहिला गोली प्रहार गरेको बताएका छन् । यस घटनामा इजरायली सेनाले अहिलेसम्म कुनै प्रतिक्रिया जनाएको छैन ।

यसैबीच, अन्तर्राष्ट्रिय रेडक्रस संस्थाले गाजाको दक्षिण भागमा रहेको किसुफिम नाका हुँदै रिहा गरिएका १० जना प्यालेस्टिनी बन्दीहरूलाई देइर अल–बालाहस्थित अल–अक्सा शहीद अस्पतालमा पुर्‍याएको छ । रेडक्रसका अनुसार ती बन्दीहरूलाई आफ्ना परिवारसँग भेट गराइएको र स्वास्थ्य परीक्षणको व्यवस्थासमेत मिलाइएको छ । रासस, सिन्ह्वा

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको