
May 7, 2025, Jyotishsanchar press
भारत र पाकिस्तानबिच बढ्दो तनावका बिच संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले गल्ती नगर्न दुवै देशलाई आग्रह गरेका छन् । सैन्य आक्रमण कुनै समाधान नभएको उनको भनाइ छ ।
उनले दुवै देशका सरकार र जनताप्रति सम्मान व्यक्त गर्दै संयुक्त राष्ट्र शान्ति स्थापनामा उनीहरूको महत्त्वपूर्ण योगदान रहेको बताए । अहिले सम्बन्ध बिग्रिएको देख्दा पीडा महशुस भएको उनको भनाइ छ ।
नागरिकहरूलाई निशाना बनाउनु गैरजिम्मेबारपन भएको भन्दै उनले जिम्मेवारहरूलाई विश्वसनीय र कानूनी माध्यमबाट न्यायको कठघरामा ल्याउनुपर्ने माग गरे । अप्रिल २२ मा भारत नियन्त्रित कश्मीरको पहलगाममा पर्यटकहरूमाथि भएको आक्रमणपछि भारत र पाकिस्तानबिच तनाव बढेको छ । यसै क्रममा पाकिस्तानको विभिन्न स्थानमा गएराति भारतले आक्रमण गरेको थियो ।

