बुद्ध पूर्णिमाको महत्व

पं-बालमुकुन्द देवकोटा

काठमाडाैँ । संसारमा दुःख छ र दुःख हटाउन सके निर्वाण वा शान्ति प्राप्त हुन्छ भन्ने ज्ञानका प्रवर्त्तक गौतम बुद्धको जयन्ती बुद्ध पूर्णिमा वा वैशाख पूणिर्माका दिन विश्वभर मनाइन्छ।बुद्धको जन्म, ज्ञान प्राप्ति, महापरिनिर्वाण (मृत्यु) वैशाख पूणिर्माकै तिथिमा परेकाले यस दिन नेपाललगायत विश्वका बौद्ध धर्मावलम्बीले बुद्धप्रति भावपूर्ण श्रद्धा र भक्तिले बुद्धजयन्ती मनाउने गर्छन्। वि.सं. २००८ जेठ ८ गते बुद्ध जयन्तीका दिन पहिलोपटक सार्वजनिक बिदा तथा वि.सं. २०१२ फागुन ७ गते लुम्बिनीमा बुद्ध जयन्तीका दिन हत्या, हिंसामाथि प्रतिबन्धको घोषणा गरिएको थियो ।

विश्व शान्तिका अग्रदूत मानिएका गौतमबुद्धको जन्मजयन्तीका दिन संयुक्त राष्ट्र संघीय प्रणालीमा पनि सन् २००२ देखि सार्वजनिक बिदा दिईंदै आइएको छ। हालसम्म विश्वका प्रकाशनमध्ये बुद्धसम्बन्धी सबैभन्दा बढी पुस्तक प्रकाशन भएको बताइन्छ।

भगवान् गौतम बुद्ध बौद्ध धर्मका प्रणेता हुन् । अधिकांश बौद्ध परम्पराले उनीलाई हाम्रो कल्पका एक सम्यक सम्बुद्धको रूपमा मान्दछन् । बुद्ध भन्नाले बोधिप्राप्त वा अन्तिम सत्यको साक्षात्कार गरेको महामानव बुझिन्छ । बुद्ध कहलाइनु अघि यिनको नाम सिद्धार्थ गौतम थियो । यिनीलाई शाक्य मुनि गौतम बुद्ध पनि भनिन्छ । गौतम बुद्धको जन्म र मृत्यु कहिले भयो भनी यकिनका साथ भन्न नसकिए पनि बिसौं शताब्दीका धेरैजसो इतिहासकारहरू उनको जीवनकाल ५६३ ईशापूर्वदेखि ४८३ ईशापूर्व रहेको भन्ने कुरामा एकमत देखिन्छन्। पछिल्लो समयमा भएका अनुसन्धान अनुसार उनको मृत्यु ४८६ देखि ४८३ ईशापूर्वको बीचमा रहेको मानिएको छ ।

तथापि गौतम बुद्धको जन्म बैशाख शुक्ल पूर्णिमाको दिन हाल नेपालको सीमाभित्र पर्ने रूपन्देही जिल्लाको लुम्बिनी भन्ने ठाउँमा भएको थियो भन्ने कुरामा दुईमत छैन । उनले आफ्नो जीवनकालको पहिलो २९ वर्ष पिताद्वारा प्रदत्त राजसी सुखमा बिताए। तर पनि उनी सदा संसारमा व्याप्त दु:खको कारण र त्यसको निवारण के होला भनी चिन्तित रहन्थे। यही दु:ख निवारणको सत्यमार्ग पत्ता लगाउने उद्देश्यले २९ वर्षको उमेरमा गृहत्याग गरी सिद्धार्थ भारतको विभिन्न ठाउँमा सात वर्षसम्म कष्टदायक तपस्या गर्दै हिंडे । अन्तत: कष्टदायक मार्गले सत्यको प्राप्ति हुन सक्दैन भन्ने महशुस गरी मध्यमार्गको अवलम्बन गर्ने अठोट गरे। बोधगया भन्ने ठाउँमा एक बृक्षको मुनि अधिष्ठानपूर्वक ध्यान गर्दा गर्दै उनलाई सम्यक सम्वोधि प्राप्त भयो र उनी सम्यक सम्बुद्ध कहलाइए। त्यसपछि शेष ४५ वर्षसम्म उनी भारतवर्षका विभिन्न ठाउँ पुगी दु:ख निवारणसम्वन्धी आफूलाई प्राप्त महाज्ञान बाँड्न रातदिन लागिपरे ।

सिद्धार्थ गौतमका बाबु शुद्धोदन तत्कालीन तिलौराकोट राज्यमा शाक्य बंशका राजा थिए।यिनकी आमाको नाम मायादेवी थियो । भनिन्छ रानी मायादेवी आफ्नो माइत देवदह जाने क्रममा बाटोमा पर्ने लुम्बिनी भन्ने ठाउँमा पुग्दा प्रसव व्यथाले भेटेपछि आरामका लागि बसिन् ।त्यहीँ उनलाई पुष्करिणी सरोवरको किनारमा एउटा रुखको फेदमा सुस्ताउँदै गर्दा बालक सिद्धार्थको जन्म भएको थियो । असित ऋषिले बालकको नाम सिद्धार्थ नामकरण गरेका थिए ।सिद्धार्थको अर्थ हुन्छ– सबै मनोकामनाले पूर्ण ।

उनी केही ठूला भएपछि उनको विधिवत् यज्ञोपवीत संस्कार गरिएको र सिद्धार्थलाई गायत्री मन्त्र सुनाउन स्वयं विश्वामित्रलाई नै आह्वान गरिएको कुरा आर्नोल्डले द लाइट अफ एशिया पुस्तकमा उल्लेख गरेका छन् ।

गौतम बुद्धलाई हिन्दू धर्मावलम्बीहरूले भगवान विष्णुका दश अवतार मध्यको एक अवतार मानेर पूजा गर्छन् भने बौद्ध धर्मावलम्बीहरूले सम्यक सम्बुद्धको रूपमा पूजा गर्दछन् । गौतम बुद्धलाई एसियाका तारा पनि भनिन्छ । बुद्धको ख्याती हाल विश्वभर फैलिएको छ । आज भोलि धेरै देशका मानिस गौतम बुद्धलाई मान्दछन् । बुद्धको केन्द्रिय दार्शनिक सिद्धान्त प्रतित्य-समुत्पाद हो । बुद्धले सम्पूर्ण आधारभूत गुणहरु अनित्य, दु:ख र अनात्मका बारेमा प्रकास पार्नु भयो। जसलाई बुद्धको आधारभूत सिद्धान्तरुपमा चिनिन्छ। भारतको कुशीनगरमा ईशापूर्व ४८३को बैशाख शुक्ल पूर्णिमाको दिन नै बुद्धले निर्वाण प्राप्त गरेका थिए ।

सामान्य राजकुमारको झैं यिनको पनि उमेर पुगेपछि यशोधरा नामकी युवतीसँग विवाह भएको थियो । यशोधराबाट राहुल नामका एक पुत्रको पनि जन्म भएको थियो । गौतम बुद्ध युवा छँदै बिरूढक नामका एक राजासित यिनले युद्ध पनि लडेको इतिहासले बताउँछ । बाल्यकालदेखि नै गम्भीर स्वभावका सिद्धार्थ गौतमलाई हरेक कुराले चिन्तनशील बनाउँथ्यो। दैनिकीकै क्रममा उनले बुढो, रोगी मानिसलाई देखे । उनले मानिस मरेको पनि देखे । यसबाट उनमा बैराग्य पैदा भयो। मानिस के कारणले रोगी हुन्छ? के कारणले बुढो हुन्छ? र के कारणले मर्छ? भन्ने प्रश्नले उनलाई बैरागी बनायो । यीनै प्रश्नको समाधान खोज्न बाबुको उत्तराधिकारमा आउने आफ्नो राज्यको समेत पर्वाह नगरी २९ वर्षको उमेरमा उनी एकदिन राति सुटुक्क दरवार छोडेर निस्किए । बैराग्यका कारण विभिन्न ठाउँमा भौंतारिँदै सिद्धार्थ गौतम भारतको बोधगया पुगेर त्यहाँ तपस्या गरेका थिए ।

अशोकले बुद्ध धर्मको प्रचारमा सर्वाधिक महत्त्वपूर्ण योगदान गरेको विवरण पाइन्छ । आफूले बौद्ध धर्म ग्रहण गरेपछि उसले आफ्ना सबै छोराछोरीलाई बुद्धका उपदेश प्रचार गर्न चारैतिर पठायो । बौद्ध धर्मलाई राजकीय धर्म बनाएर बौद्ध विहार बनाउने, भिक्षुसंघलाई राजकीय सम्मान प्रदान गर्ने कार्य गर्यो । यसबाट बुद्ध धर्मको उत्थान हुन गयो । फलस्वरुप बौद्ध धर्ममा तार्किकताका सिद्धान्त विकसित भए । वैभाषिक, शून्यवाद इत्यादि दर्शनको विकास गर्न पछिल्ला बौद्ध अनुयायीहरुको योगदान रहेको छ । वैदिककालमा विशेषगरि दुई प्रकारको धार्मिक वादको मान्यता रहेको देखिन्छ – ब्राह्मणवाद र श्रमणवाद। ब्राह्मणहरु वेदमा विश्वास गर्थे भने स्रमणहरु अवैदिक थिए। श्रमणहरु आस्तिक र नास्तिक दुवै थिए ।

लेखक सनातन विद्वत् परिषद् नेपालका सदस्य हुन् ।

Gautam Buddha

May 11, 2025, Jyotishsanchar press

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको