काठमाडाैं । जल तथा मौसम विज्ञान विभागले यस वर्षको मनसुन अवधिमा सरदरभन्दा बढी वर्षा र गर्मी हुने प्रक्षेपण गरेको छ।
बुधबार विभागले ललितपुरमा आयोजना गरेको “राष्ट्रिय मनसुन फोरम–२०८२” मा मौसमविद्हरूले यस्तो प्रक्षेपण सार्वजनिक गरेका हुन् ।
विभागका वरिष्ठ मौसमविद् विभूति पोख्रेलले यो वर्षको मनसुन अवधिमा सरदरभन्दा बढी वर्षा र गर्मी हुने बताउनु भयो । उहाँले देशभरका स्थानअनुसार ५५ देखि ६५ प्रतिशत, ४५ देखि ५५ प्रतिशत र ३५ देखि ४५ प्रतिशत वर्षा हुने सम्भावना रहेको बताउनु भयो ।
यस वर्षको मनसुन ऋतुको अधिकतम तापक्रम पनि सरदरभन्दा बढी हुने सम्भावना रहेको बताउँदै उहाँले तापक्रम पनि स्थानअनुसार ५५ देखि ६५ प्रतिशत, ४५ देखि ५५ प्रतिशत र ३५ देखि ४५ प्रतिशत हुने जानकारी गराउनु भयो । यस्तै, उहाँले यस वर्षको मनसुन ऋतुको न्यूनतम तापक्रमको आँकलन पनि विगत वर्ष जस्तै सरदरभन्दा बढी हुने सम्भावना रहेको जानकारी दिनुभयो ।
विभागका वरिष्ठ मौसमविद् प्रतिभा मानन्धरले नेपालको परिप्रेक्ष्यमा ८० प्रतिशत वर्षा मनसुनको सिजनमा हुने गरेको भन्दै यसबाट हुने क्षतिलाई न्युनिकरण गर्न तयारी अवस्थामा बस्नुपर्ने बताउनु भयो । उहाँले १२ महिनामध्ये लगभग ४० प्रतिशत विपद्हरू मनसुनको अवधिमा हुने बताउनु भयो । मनसुनको समयमा नेपालमा हरेक वर्ष तीन सय बढीको ज्यान जाने र २ सय मिलियन डलरभन्दा बढी क्षति हुने गरेको विभागले जनाएको छ ।

May 21, 2025, Jyotishsanchar press

