काठमाडौं । हाल देशको पश्चिम र मध्य भूभागमा पश्चिमी र स्थानीय वायुको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यस्तै, कोशी प्रदेशका अधिकांश भूभागमा मनसुनी वायुको प्रभाव रहेको छ ।
महाशाखाका अनुसार अहिले देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ । सबै प्रदेशका एक दुई स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । आज दिउँसो कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशलगायत पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफादेखि आंशिक बदली रहनेछ ।
कोशी प्रदेशका केही स्थान, मधेस र बागमती प्रदेशलगायत बाँकी पहाडी भूभागका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना छ । उच्चपहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का वर्षासहित हिमपातको सम्भावना छ ।
राति कोशी प्रदेशका थोरै स्थान तथा मधेस, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

June 5, 2025, Jyotishsanchar press

